नेपाल किसानको देश र कृषिमा आधारित अर्थतन्त्र रहेकाले किसानको पक्षमा सवैले आवाज उठाउनुपर्छ: शेरबहादुर देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसानको देश र कृषिमा आधारित अर्थतन्त्र रहेकाले किसानको पक्षमा सवैले आवाज उठाउनुपर्नेमा जोड दिएका छन् ।

भक्तपुरमा कांग्रेसका अग्रज नेता जगन्नाथ आचार्यको १००औं जन्म जयन्ती समारोहलाई सोमबार सम्बोधन गर्दै सभापति देउवाले अग्रज नेताहरुको योगदानका बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएका छन् ।

अग्रज नेताहरुले मुलुकको परिवर्तनका लागि धैरै योगदान दिएकाले उक्त योगदानका बारेमा पार्टीका नेता कार्यकर्ताहरुले प्रचारप्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

जगन्नाथ आचार्य जुझारु नेताको रुपमा परिचित रहेको र आचार्यले किसानको क्षेत्रमा गरेको योगदानको उनले स्मरण गरे ।

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले परिवर्तित अवस्थामा अग्रजहरुले देखाएको बाटोलाई अवलम्बन गर्दै कांग्रेसलाई रुपान्तरण गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

११,बैशाख.२०८०,सोमबार १५:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्