मिस नेपालको अधुरो सपना थियो, ताज लगाइदिँदा भावुक बनें : आँचल शर्मा

काठमाडौं । हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल प्रतियोगिताको फाइनलमा हरेक वर्ष फरक फरक क्षेत्रबाट चर्चित व्यक्तित्वहरुलाई निर्णायकको रुपमा आमन्त्रण गर्ने गरिन्छ । उनीहरुले विभिन्न प्रश्न गरेर प्रतियोगीहरुको बौद्धिकता परीक्षण गर्छन् ।

हरेक वर्ष कलाकारिता क्षेत्रबाट एकजना निर्णायकको रुपमा कार्यक्रममा देखिने गरेका छन् । यस वर्ष पनि मिस नेपालले ११ जनाको जज प्यानल बनाएको थियो, जसमा कलाकारिता क्षेत्रबाट नायिका आँचल शर्मा समावेश थिइन् । गोदावरीमा सम्पन्न मिस नेपाल २०२३ को ग्रान्ड फिनालेमा उनले निर्णायकको अनुभव बटुलेकी छन् ।

पहिलोचोटि मिस नेपालको निर्णायक बनेकी आँचलले खासै नौलो भने नलागेको बताइन् । पहिला पनि अन्य सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिका निभाइसकेको हुँदा सहज भएको उनको अनुभव छ ।

त्यसो त आँचल ‘मिस प्लस टु’की उपाधि विजेतासमेत हुन् । पहिलो पटक सन् २०१३ मा उनले मिस एसएलसीमा भाग लिएकी थिइन् । उक्त प्रतियोगितामा उनले चौथो रनरअपको स्थान बनाइन् । मिस एसएलसीमा भाग लिएको दुई वर्षपछि उनले मिस प्लस २ नेपालमा सहभागिता जनाइन् । जहाँ उनले मिस बेस्ट पर्सनालिटीको सह-उपाधिसहित मिस प्लस २ को टाइटल हात पारिन् ।

मिस नेपालमा जाने उनको सपना भने साकार हुन सकेन । बरु निर्णायकका रुपमा मिस नेपालमा भाग लिन पाइन् । मिस नेपालमा निर्णायकको रुपमा आँचलको अनुभवबारे गरिएको कुराकानीः

– मिस नेपालमा निर्णयकको भूमिका निभाउँदाको अनुभव कस्तो रह्यो ?

एकदमै रमाइलो भयो । म आफैं पनि ‘मिस प्लस टु’ मा भाग लिइसकेको मान्छे हो । प्रतिस्पर्धी भएर अरु पनि सौन्दर्य प्रतियोगिताहरुमा सामेल भइसकेकी छु । थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा समेत निर्णायक भएर गएकी छु । त्यसैले यस क्षेत्रमा यो मेरो पहिलो अनुभव भने होइन ।

क्षेत्र परिचित हो । मात्र मिस नेपालमा निर्णायकको भूमिका निभाउने कार्य पहिलो हो । मिस नेपालको प्लेटफर्ममा उहाँहरुले एकचोटी निम्त्याएको व्यक्तित्वलाई दोस्रो पटक दोहोर्‍याएर निर्णायकको रुपमा बोलाउनुहुन्न । त्यसैले मेरो लागि यो पहिलो उपस्थिति झनै खास भयो । यति ठूलो प्लेटफर्ममा निर्णायक भएर जाने मौका पाएँ, खुशी छु । अनि सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।

– मिस नेपालमा निर्णायक हुने संयोग कसरी जुर्‍याे ?

फिनालेको एक महिना अगाडि नै उहाँहरुले मलाई निर्णायकको लागि निमन्त्रणा पठाउनु भएको थियो । त्यो निमन्त्रणालाई मैले स्वीकार्ने कि नस्वीकार्ने भन्ने मात्र फाइनल हुन बाँकी थियो । मिस नेपाल कुनै समय मेरो पनि सपना भएकाले गर्दा मैले उहाँहरुको निमन्त्रणालाई स्वीकारें, अनि यो संयोग जुर्‍याे ।

– मिस नेपालमा निर्णायकको भूमिका निभाउने निमन्त्रणा आएको देख्दा सुरुमा तपाईंको दिमागमा के आएको थियो ?

त्यस्तो केही लागेन । मैले यस क्षेत्रमा सक्रिय भएर काम गरेको सात वर्ष भइसक्यो । उहाँहरुले यस क्षेत्रमा सक्रिय भएर काम गरिरहेका व्यक्तित्वहरुलाई नै उहाँहरुको क्षमता र दक्षता हेरेर कार्यक्रममा निर्णायकको रुपमा बोलाउनु हुने हो । ममा पनि उहाँहरुले त्यो क्षमता देख्नुभयो होला । त्यसैले त्यति ठूलो प्लेटफर्ममा मैले जजको भूमिका निर्वाह गर्ने मौका पाएँ ।

विभिन्न क्षेत्रमा योगदान दिनुभएको व्यक्तिहरु मेरो वरिपरि हुनुहुन्थ्याे । मेरो वरिपरि सौन्दर्य प्रतियोगिता, मेडिकल, खेलकुदलगायतका भिन्नभिन्न क्षेत्रका बहुमुखी व्यक्तित्वहरुको उपस्थितिले मलाई झनै परिपक्व बनाइरहेको थियो ।

– तपाईं आफैं पनि सौन्दर्य प्रतियोगितामा भाग लिइसकेको मान्छे । प्रतिस्पर्धी हुनु र निर्णायक हुनुमा कस्तो फरक छ ?

विशाल फरक छ । निर्णायक हुँदा मलाई कसैले जज गर्छन् कि भन्ने डर हुँदैन । हामीले आनन्दले बसेर अरुलाई जज गर्न सक्छौं । उहाँहरुको प्रतिभालाई निडर भएर नियाल्न सक्छौं । बीचमै केही भएर हामी निस्किनुपर्छ कि भन्ने डर हुँदैन । हुन त निर्णायकको काम पनि सहज त होइन । हरेक कुरालाई गहिराइबाट नियालेर एक जना छान्नुपर्छ । प्रतिभाशाली व्यक्तिहरुबाट बहु प्रतिभाशाली व्यक्ति चयन गर्नु सरल कार्य त होइन । तर, प्रतिस्पर्धी हुँदा अझ गाह्रो हुन्छ जस्तो लाग्छ ।

कार्यक्रम नसकिञ्जेलसम्म आफ्नो बेस्ट दिनुपर्छ । उपस्थित मान्छेले आफूलाई कसरी हेरिरहेका छन् होला भन्ने डर हरपल मनमा हुन्छ । आफू जतिसुकै निडर भएर उभिए पनि मनमा कहींकतै नर्भसनेस छाइरहेको हुन्छ । कति मेहनत गरिएको हुन्छ, अन्तिमसम्म आफ्नो गन्तव्य तय गर्न सक्छु या सक्दिनँ भन्ने डर हुन्छ ।

– मिस नेपालमा तपाईंलाई पनि जानु थियो । तर, जानुभएन । किन ?

म मिस नेपालमा रुचि भएको मान्छे हो । मैले जति पनि सौन्दर्य प्रतियोगिताहरुमा भाग लिएँ, मिस नेपालमा जान नै लिएकी थिएँ । त्यहीअनुसार तयारी गरिरहेकी थिएँ । तर, त्यो बेला मेरो उमेर सानो थियो । मात्र १७ वर्षकी थिएँ । मनमा रहर भएको बेला मिस नेपालमा जान मेरो उमेरले छेक्यो । उमेर नपुगेपछि मैले केही समयको लागि त्यो सपनालाई त्यही बिसाएँ । बिस्तारै कलाकारिता क्षेत्रतर्फ लागियो । यतै व्यस्त हुन थालें ।

मिस नेपालमा भाग लिन २२-२३ वर्षको पुग्नुपर्थ्याे । २२-२३ वर्षमा त मैले सिने क्षेत्रमै आफ्नो लागि राम्रो प्लेटफर्म बनाइसकेकी थिएँ । यहाँ एउटा नाम बनाइसकेपछि फेरि त्यता जान अलि अफ्ठ्यारो पनि भयो । परिचित भइसकेको अनुहार थियो । त्यसपछि मिस नेपालमा जाने सपना त्यत्तिकै रह्यो ।

आफ्नो मिस नेपालमा जाने सपना भएको र अधुरो रहेकाले होला, अस्ति विजेतालाई ताज पहिर्‍याउने बेलामा म आफैं भावुक भएँ । मैले त्यो ठाउँमा आफूले आफैंलाई कल्पना गरिरहेकी थिएँ । उहाँहरुलाई कस्तो महसुस भइरहेको होला अथवा उहाँहरुले के सोचिरहनुभएको होला भनेर उहाँहरुको ठाउँमा म आफैंलाई राखिरहेकी थिएँ ।

– तपाईंको लागि प्रतिस्पर्धीमा हुनुपर्ने मुख्य गुण के हो ?

उसको कन्फिडेन्ट र व्यक्तित्व । मिस नेपालको विजेता भएपछि उहाँहरुले बाहिरी देशमा आफ्नो देशलाई प्रतिनिधित्व गरेर जानुपर्ने हुन्छ । त्यहाँ पुगेपछि आफूले गरिने हरेक क्रियाकलापको मापन हुन्छ । डरायो अथवा नभर्स भयो भने आफैंलाई गाह्रो हुने कुरा हो । आफूले बोलेका र गर्न लागेका कुराहरुमा पहिला आफू विश्वस्त हुनुपर्‍याे । आफूले सोचेको कुरालाई कन्फिडेन्सका साथ प्रस्तुत गर्न सक्नुपर्‍याे ।

फिनाले अघिको उहाँहरुको हरेक क्रियाकलापलाई कोरियोग्राफर र अर्गनाइजर टीमले नियालिरहनुभएको हुन्छ । जसको परिणामस्वरुप फिनालेमा उहाँहरुलाई विभिन्न विधामा पुरस्कृत गरिन्छ । फिनालेअघि कुनै पनि प्रतिस्पर्धीसँग कुनै पनि निर्णायकको भेट भएको हुँदैन । त्यही एकदिन स्टेजमा उहाँहरुले दिनुभएको प्रस्तुति हेरेर हामीले निर्णय लिनुपर्ने हो । त्यही एक दिन हो, जहाँ उहाँहरुले आफूले आफैंलाई बेस्ट देखाउने हो ।

उहाँहरुको व्यक्तित्वले ठूलो भूमिका खेल्छ । उहाँहरुले आफूले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ, कसरी हिँड्नुहुन्छ, कसरी बोल्नुहुन्छ, कसरी हाँस्नुहुन्छ भन्ने चिजहरु सबै पर्सनालिटीभित्रै पर्ने कुराहरु हुन् । त्यसैले मेरो लागि फिनालेको त्यो एक दिनमा प्रतियोगीको कन्फिडेन्ट र पर्सनालिटी (व्यक्तित्व) ले विशेष भूमिका राख्छ ।

– तपाईंलाई व्यक्तिगत रुपमा कुन प्रतियोगी धेरै मन परेको थियो ?

त्यस्तो व्यक्तिगत रुपमा कोही निश्चित प्रतियोगी मन पर्ने नपर्ने भन्दा पनि हामीले जसलाई उत्तम ठानेर विजेता बनायौं, उहाँहरु नै हामी सबैको रोजाइ हो । टप ३ हो । मिस नेपाल हो ।

मेरो लागि त त्यहाँ त्यतिको साहस बोकेर उभिने २४ प्रतिस्पर्धी नै मिस नेपाल हुन् । सबै नै मलाई मन परेका प्रतिस्पर्धीहरु हुन् । त्यहाँ कोहीभन्दा कोही कम हुनुहुन्न थियो । तर, २४ मा २४ जनालाई नै हामीले ताज पहिर्‍याउन सक्दैनौं । तीन जना छान्नैपर्ने थियो । त्यसैले बेस्टमध्येको बेस्ट निकाल्याैं ।

२२,जेष्ठ.२०८०,सोमबार १४:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्