काठमाडौंका हलमा चल्न थाले हिन्दी फिल्म

काठमाडौंका हलहरूमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा आएको छ।

काठमाडौंका हलमा बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म ‘जरा हटके जरा बचके’ प्रदर्शनमा आएको हो। नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स र वान सिनेमाजले सो फिल्म प्रदर्शनमा ल्याएका हुन्।

बिहीबार चलचित्र संघको बैठकले आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय गरेको थियो।

हलहरूका छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले ‘आदिपुरुष’ वितरकले हटाइसकेको हुँदा सो फिल्म प्रदर्शन नहुने बताए।

काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए। तर यो संवाद नै फिल्ममा नभएको जानकारी निर्माता र चलचित्र सेन्सर बोर्ड, नेपालले समेत जानकारी दिइसकेको छ।

बिहीबार उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेसँगै आजदेखि हिन्दी फिल्म प्रदर्शन हुन लागेको हो। यद्यपि बालेनले भने अदालतको फैसला नमान्ने भन्दै ‘आदिपुरुष’ र हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका छन्। उनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका हुन्।

अदालतले विपक्षीसँग छलफल गर्न असार १२ गते दुबै पक्षलाई बोलाएको छ।

हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो।

८,असार.२०८०,शुक्रबार ११:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्