कोशीको नयाँ मुख्यमन्त्री टुंग्याउन काठमाडौं पुगे कांग्रेस र माओवादीका नेता

काठमाडौ । काठमाडौ कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि केन्द्रीय सत्ता गठबन्धनमा रहेका घटकहरू नयाँ सरकार बनाउन जुटेका छन्।

कांग्रेस प्रदेश संसदीय दलका नेता दुई दिनदेखि काठमाडौंमा छन् भने माओवादी केन्द्रका दलका नेता इन्द्र आङ्बो पनि आजै काठमाडौं आएका छन्।

प्रदेश प्रमुखले सरकार गठनको आह्वानको तयारी गर्दा उनीहरू मुख्यमन्त्री बन्ने आकांक्षासहित काठमाडौं आएका हुन्।

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतालाई भेटेर सरकार गठनबारे राय लिने बुझिएको छ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले आजै प्रदेश प्रमुखबाट सरकार गठनको आह्वान हुने सम्भावना रहेको बताए।

उनले कांग्रेस, माओवादी केन्द्रलगायत केन्द्रीय सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र मध्यावधिमा नजाने जानकारी दिए।

सरकार गठनबारे राप्रपासँग पनि कुरा भइरहेको छ।

‘देशलाई संकटमा जान नदिने, मध्यावधि चुनावमा जान हुँदैन भन्नेमा उहाँहरू पनि सहमत हुनुहुन्छ तर ठोस निष्कर्ष केही निस्किएको छैन,’ उनले भने, ‘अहिले हामी प्रदेश सरकार कसरी बनाउने भन्नेबारे छलफल गर्न काठमाडौंमा छौं। गठबन्धनबाट बहुमतको सरकार बन्छ भन्ने नै छ।’

उनले कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने समझदारी भएको पनि दाबी गरे।

गठबन्धन घटक दलले सहमति जनाइसके पनि शीर्ष तहबाटै निर्णय गराउन उनीहरू काठमाडौं आएको उनले बताए।

‘हाम्रो प्रदेशको मुख्यमन्त्री माओवादीलाई नै दिने मोटामोटी समझदारी भएको छ। प्रदेश प्रमुखबाट आह्वान भएपछि काठमाडौंमा शीर्ष नेताहरूसँग पनि कुराकानी गरेर सहमतिमा पुग्छौं,’ आङ्बोले भने।

९३ सदस्यीय प्रदेश सभामा एक मत नपुगेर एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढलेको थियो। कार्कीले ४६ मत पाएका थिए भने विपक्षमा ४३ मत आएको थियो।

सरकार गठन गर्न ४७ मत आवश्यक हुन्छ।

प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समावादीका ४ र जसपा १ सांसद छन्।

गठबन्धनमा राप्रपा पनि थपिनेमा घटक दलहरू विश्वस्त छन्।

राप्रपा सामेल नभए पनि बहुमत पुर्‍याउने दाबी उनीहरूको छ।

गठबन्धनको पक्षमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, समाजवादीका ४ र जसपाका १ सांसद गरी ४७ जना छन्।

सभामुखसहित ४७ भएकाले गठबन्धनले बहुमत जुटाउन नसक्ने र मध्यावधिमा धकेलिन सक्ने दाबी एमालेको छ।

तर, नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनको पक्षमा बहुमत जुट्ने दाबी गरे।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग पनि कुराकानी भइरहेको छ। निष्कर्षमा पुगेको छैनौं। गठबन्धनकै सरकार बनाउने दिशामा अघि बढेका छौं। मध्यावधिमा जानु पर्दैन,’ उनले भने।

उनले सभामुखलाई भोट हाल्न लगाएर भए पनि बहुमत पुर्‍याउने जिकिर गरे।

‘सभामुख पनि सांसद हो, त्यो हैसियतले उहाँले भोट हाल्न पाउनुपर्छ भन्ने नै हाम्रो मान्यता हो,’ उनले भने, ‘सभामुखलाई भोट हाल्न लगाउनुपर्छ, मुद्दा परे अदालतले व्याख्या गर्छ।

यता कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले पनि गठबन्धनको पक्षमा बहुमत जुट्ने दाबी गरे। को मुख्यन्त्री बन्ने भनेर निर्क्यौल भइनसकेको उनको भनाइ थियो।

‘को मुख्यमन्त्री बन्ने भन्ने शीर्ष नेताहरू बैठक बसेर टुंगोमा पुग्छौं। प्रदेश प्रमुखले भोलिसम्ममा सरकार गठन आह्वान गर्नुहुन्छ,’ उनले भने।

सरकार गठनमा गठबन्धनले साथ खोजिरहँदा राप्रपा भने आफूहरूसँग कसैले छलफल नगरेको बताउँछ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म गठबन्धनले कोशीमा सरकार गठनमा छलफल नगरेको बताए।

‘प्रदेश हाम्रो प्राथमिकताको विषय पनि होइन, कसैसँग छलफल पनि भएको छैन। कोही छलफल गर्न आएका पनि छैनन्। परिस्थिति के हुन्छ त्यहीअनुसार निर्णय लिन्छौं,’ उनले भने।

१७,असार.२०८०,आईतवार १५:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्