कोशी : कांग्रेस-माओवादीका सांसदले गरे बजेट अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता

विराटनगर । आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट कार्यान्वयन गर्ने सम्बन्धी दुई वटा अध्यादेशलाई अस्वीकार गर्न माग गर्दै कोशी प्रदेश सभामा दुई वटा सूचना दर्ता भएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत बजेट ल्याएकोमा भन्दै बजेट अध्यादेश कार्यान्वयन रोक्न अध्यादेश अस्वीकारको सूचना प्रस्ताव दर्ता गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले अध्यादेश अस्वीकारको सूचना दर्ता गरेका हुन् ।

त्यसैगरी अध्यादेश अस्वीकारको माग गर्दै नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य नारायण बहादुर बुर्जा मगर नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरू खिनु लङ्वा लिम्बु र कमल प्रसाद जवेगुले संयुक्त सूचना दर्ता गरेका हुन् ।

अध्यादेश अस्वीकारको माग गर्दै प्रदेश सभा सचिवालयमा दुई वटा सूचना पत्र दर्ता भएको कोशी प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेश सभाबाट अध्यादेश अस्वीकार सम्बन्धी सूचनाको प्रस्ताव बहुमतले अस्वीकार गरे स्वतः निष्क्रिय हुनेछ ।

जसका कारण कोशी प्रदेश सरकारले आगामी साउन १ गतेबाट गर्ने कुनैपनि सरकारी खर्चको अभिलेख राख्न कानुनी अड्चन उत्पन्न हुने छ ।

तीन वटा दलहरूका चारजना प्रदेश सभा सदस्यहरुले प्रदेश सभामा अध्यादेश छलफल गर्नुअघि नै अस्वीकार गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता गरेका हुन् ।

कोशी प्रदेशको तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका हिक्मत कार्कीले बजेट अध्यादेश स्वीकार गर्ने सम्बन्धी प्रस्ताव टेबल गराएका थिए ।

सरकारमा रहेका जसपा र माओवादीले विश्वासको मत फिर्ता लिएपछि हिक्मत कर्की नेतृत्वको सरकारले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनलाई जेठ ३१ गते नै अन्त्य गरी भोलिपल्ट अर्थात जेठ ३२ मै अध्यादेशबाट बजेट ल्याएका थिए ।

कार्कीले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको वार्षिक आयव्यय अनुमान उल्लेखित बजेट वक्तव्य सार्वजनिक गरेका छन् ।

१८,असार.२०८०,सोमबार ०९:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्