जनकपुरमा अनुगमन गर्न थालेपछि अवैध औषधि पसलेको भागाभाग

जनकपुरधाम । मधेशको राजधानी जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् ।

विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वमा आएको टोलीले गत मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ ।

सो क्रममा दर्ता बिनै सञ्चालित अधिकांश औषधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभागको वीरगञ्ज शाखाका फार्मेसी अधिकृत सर्फराज अहमद खानले बताए ।

उनका अनुसार हस्पिटलको फार्मेसी, हलसेल फार्मेसी र औषधि पसल गरी ६५ वटामा अनुगमन गरिएको छ । जसमा अधिकांश अस्पतालहरुमा आफ्नो फार्मेसी नभएको र सटर भाडामा दिएर बाहिरका व्यक्तिले सञ्चालन गरको पाइएको छ ।

दर्ता भएका केही औषधि पसलमा फर्मासिस्ट नभएको र उपस्थित व्यक्तिले विभिन्न कामले उनीहरु बाहिर रहेको बताएका छन् । उनीहरूलाई फर्मासिस्ट आफैं बस्नु पर्ने अथवा अनुपस्थित भएमा बन्द गर्न सुझाव दिएको उनले बताए ।

बिगतमा पनि अनुगमनमा आउँदा अवैध औषधि पसल सञ्चालक बन्द गरेर भाग्ने गरेको टोलीको भनाइ छ ।

२१,मंसिर.२०८०,बिहीबार १६:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्