मिटरब्याजी निरौलाले अदालतमै पीडितलाई कुटेपछि पिडित रातभर धर्नामा, आरोपी हिरासतमा

जनकपुरधाम । मिटरब्याजी साँहुले आतंकित बनाउनर्दै कुटपिट गरेको भन्दै सिरहा जिल्ला प्रहरी कार्यालय अगाडि रातभर पीडितहरु धर्ना बसेका छन् । सिरहा जिल्ला अदालतमा रौदी यादव र सुकुमारी साहमाथि श्याम निरौलाले कुटपिट गरेको भन्दै विष्णुपुर गाउँपालिका १ का मिटरब्याज पीडित रातभर धर्ना बसेका हुन् ।

निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए । बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए । धर्नामा पासवान पनि बसेका थिए ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बु जानकारी दिए । उनलाई अदालतबाटै नियन्त्रणमा लिएर मेडिकल गरी हिरासतमा राखेको एसपी लिम्बुले बताए ।

संयोजक पासवानका अनुसार अदालतमै पीडितमाथि कुटपिट हुँदा प्रहरीले मिटरब्याजीलाई जोगाएर गाडीमा जिल्ला प्रहरी ल्याएका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् । उल्टै प्रहरीले लाठीचार्ज गर्दै धपाउने भनेर धम्काएपछि रातभरि धर्ना बसेको उनको भनाइ छ ।

‘प्रहरीले जाहेरी दर्ता गरेन । साँझ ६ बजे धर्ना बस्न खोजेपछि एकजना इन्सपेक्टर आएर हामीलाई धम्क्याए । लाठीचार्ज गरेर धपाउँछु भनेर । अनि त्यहिबेला हामीले निर्णय लियौं जबसम्म जाहेरी दर्ता गर्दैनौ । त्यतिबेलासम्म धर्ना बसिरहन्छौं । अनि रातभर धर्ना बसेपछि बिहान ७ बजे जाहेरी दर्ता भयो’, पासवानले भने ।

एसपी लिम्बुले कुटपिट गर्ने निरौलालाई नियन्त्रणमा लिएर जाहेरी दर्ता गर्न आफूहरु तयार रहेकै अवस्थामा पीडितहरु बिना औचित्य रातभर धर्ना बसेको बताए ।

‘कुटपिट गर्नेलाई हिजै नियन्त्रणमा लिइसकेका थियौं । अबेला भएको कारण भोलि जाहेरी लिएर आउनुस् हामी दर्ता गर्छु भन्दा मान्नु भएन । राति जाहेरी पनि लिएर अउनु भएको थिएन । रातभरि यतिकै धर्ना बस्नु भयो । अहिले अफिस खुलेपछि १० बजे जाहेरी दर्ता गरेका हौं । अब अदालत लगेर निरौलाको म्याद थप गराउँछौंं’ एसपी लिम्बुले भने ।

पक्राउ परेका निरौला विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ३२ वटा मिटरब्याज विरुद्ध उजुरी परेको छ । मिटरब्याजकै कसुरमा उनी केही समय पहिले ३५ दिन थुनामा बसेर छुटेका थिए । छुटेपछि पीडितहरुलाई धम्काउने, अभद्र गालीगलौज गर्ने जस्ता क्रियाकलाप गरिरहेको संयोजक पासवानले बताए ।

१२,पुष.२०८०,बिहीबार १०:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्