वैदेशिक रोजगारीमा पठाउँछु भन्दै १० करोड ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनेर १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुर, कोन्ज्योसोम गाउँपालिका- १ का ४७ वर्षका लालबहादुर लामालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले लिथुवानिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भन्दै युवाहरुसँग ५ लेखि १५ लाखसम्म लिएका थिए ।

उनले रकम लिएपछि वैदेशिक रोजगारीमा पाएनन्, कतिपय सिंगापुर पुगेर विमानस्थलबाटै नेपाल फर्काइएका थिए । पीडितहरुले दिएको उजुरीका आधरमा उनलाई मंगलबार दिउँसो काठमाडौंको शंखरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी बरामद भएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा उनले युवाहरुबाट १० करोडभन्दा बढी रकम उठाएको पाइएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, चाहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

१७,पुष.२०८०,मंगलवार १५:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्