ईपीएस विवादप्रति दक्षिण कोरियाको गम्भीर चिन्ता, राजदूतले भने, ‘नजिकबाट हेरिरहेका छौं’

काठमाडौं । ईपीएस कामदारको विषयलाई लिएर नेपालमा उत्पन्न विवादप्रति दक्षिण कोरिया चिन्तित देखिएको छ । नेपालस्थित कोरियाली राजदूत पार्क टी योङले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीहरुलाई भेटेर आफ्नो सरोकार व्यक्त गरे ।

स्रोतका अनुसार कोरियाली राजदूतको प्रमुख चासो यो घटनामा आफ्नो देशको सरकारलाई दोषारोपण नगरियोस् भन्ने थियो । उनले प्रतिस्पर्धालाई सीमित गराउने उद्देश्यले १६ वटा देशमा कोरियाले एउटै नीति लागू गरेको अवगत गराएका थिए ।

राजदूत पार्कको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नेपाली कामदारहरु राम्रा छन् भन्ने हामीलाई लागेको छ । तर, अनायास यस्तो घटना घट्यो । सबै घटनाक्रम नजिकबाट नियालिरहेका छौं । हामी गम्भीर र चिन्तित छौं । कोरियाको सरकार यसमा जिम्मेवार रहेको सन्देश बाहिर जानु भएन ।’

नेपाली पक्षले उच्च अदालतले गरेको पछिल्लो आदेश कार्यान्वयनका विषयमा राजदूतसमक्ष चासो राखेको थियो । यसमा राजदूतले स्पष्ट जवाफ नदिएको स्रोतको भनाइ छ । उनले यसलाई ‘विस्तारै समाधान गर्दै जाने’ बताए ।

भेटमा कोरियाली दूतावासका कर्मचारीहरुको सुरक्षा चासोबारे पनि छलफल भएको थियो । नेपाली पक्षले कोरियाली दूतावास र कर्मचारीहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति गराउनेमा आश्वस्त बनाएका थिए ।

भेटमा कोरियाली राजदूतसँग दूतावासका चार जनाको टीम थियो । नेपाली पक्षबाट श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, सहसचिव राजीव पोखरेल, वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे, ईपीएस कार्यालयका प्रमुख कमल श्रेष्ठ सहभागी थिए ।

विभागका महाननिर्देशक घिमिरेले आजको छलफल निकै सकारात्मक र फलदायी भएको बताए ।

उनले भने, ‘खुलस्त र समाधानमुखी कुराकानी भयो । अहिलेसम्मका गाँठाहरु फुके । पछिल्लो घटनाक्रमपछि उहाँहरु निकै गम्भीर देखिनुभएको छ ।’

बालकुमारी घटनापछि ईपीएस रोजगारीको भविष्यलाई लिएर संशय व्यक्त भइरहेको छ । आजको भेटमा राजदूतले नेपालबाट ईपीएस कामदार लैजान नरोक्ने प्रत्याभूति दिलाएका छन् ।

१७,पुष.२०८०,मंगलवार १६:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्