अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामबाट यसरी पठाइँदै छ कोसेली

जनकपुरधाम । भारतको अयोध्यास्थित नवनिर्मित भगवान् श्रीराम मन्दिरको प्राण प्रतिष्ठा (घरबास) का लागि जनकपुरधामबाट भार ‘कोसेली’ लिएर जाने तयारी भइरहेको छ ।

जानकी मन्दिरमा ‘जनकपुरधाम–अयोध्या भार यात्रा’का लागि भव्य तयारी गरिँदै छ । गाडीहरूलाई फूलले सिँगारिएको छ ।

बाजागाजा र झाकीका साथ सयौँ भार लिएर अयोध्याका लागि प्रस्थान गर्ने जनकपुरधामबासीको तयारी छ । भार व्यवस्थापनमा सयौँ युवा र साधुसन्त लागेका छन् ।

‘जनकपुरधाम–अयोध्या भार यात्रा’को नेतृत्व जानकी मन्दिरका सहायक महन्त रामरोषण दास गर्दैछन् । अब केहिबेरमै यहाँबाट अयोध्याका लागि प्रस्थान गर्ने जानकारी दिए ।

उनले भने, ‘यो ऐतिहासिक क्षण हो । पटक पटक घरबास (प्राण प्रतिष्ठा) हुँदैन । ५ सय वर्षपछि अयोध्यामा राम मन्दिर बनेको छ । एक पटक मात्र हुने प्राण प्रतिष्ठामा माता सीताको माइतीघरबाट भार लिएर जाँदैछौं । यो सम्पूर्ण नगरबासीको सहयोगले सम्भव भएको छ । खुशी लागेको छ ।’

माता सीताको ससुरा अर्थात् भगवान् रामको दरबारमा पठाइने कोसेलीमा चाँदीको भाडा वर्तन, सुनको गरगहना, चाँदीको तीरधनुष र खराम, फलफूल, पञ्चमेवा, साडी, धोती, पलङ, टेबुल, कुर्सी, चुल्हा जस्ता सामग्री छन् । यो साम्रीहरु नगरबासीले उपलब्ध गराएका छन् ।

काँग्रेस नेता मनोज चौधरीले एक्लै ६१ वटा भार (कोसेली) अयोध्या पठाउन जानकी मन्दिरलाई हस्तान्तरण गरेका छन् । यसबाहेक जनकपुरधामका मेयर मनोज साह, त्यहाँका मन्दिरका साधुसन्तहरु, युवा अभियानी र हिन्दूवादीहरुले पनि कोसेली उपलब्ध गराएका हुन् ।

राम मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ तारिखमा हुनेछ । जानकी मन्दिरका सहायक महन्त दासले यहाँबाट प्रास्थान गरेपछि राति वीरगञ्जमा बास बस्ने, भोली रातिसम्म अयोध्या पुग्ने र ६ तारिखको विहान कोसेली राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गर्ने जानकारी दिए ।

राम मन्दिरमा स्थापना गरिने भगवान् रामको मूर्तिको जलाभिषेक गर्न मेचीदेखि महाकालीसम्मको जल संकलन गरेर पनि अयोध्या पठाइएको छ । भगवान् रामको मूर्ति बनाउन पनि सालीग्राम पथ्थर नेपालबाटै पठाइएको थियो ।

भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या भगवान् रामको जन्मभूमि हो । त्रेतायुगमा भगवान् राम र मिथिलाका राजा जनकपुत्री सीताबीच विवाह भएको थियो । त्यसैले माता सीताको जन्मभूमि जनकपुरधामबाट भव्यताका साथ प्राणप्रतिष्ठामा कोसेली पठाइँदै छ ।

१९,पुष.२०८०,बिहीबार १०:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्