एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड माघ १२ गते, ५ विजेताले बाइक पाउने

काठमाडौं । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित स्पोर्टस अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करण आगामी माघ १२ गते हुने भएको छ ।

नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर १२ माघमा अवार्ड वितरण कार्यक्रम गर्ने घोषणा गरेको हो ।

२०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको स्पोर्टस अवार्डमा नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिन्छ ।

देशमा देखिएको आर्थिक मन्दी र व्यावसायिक क्षेत्रमा आएको गिरावटका कारण अवार्ड कार्यक्रम भदौमा गर्ने भनिए पनि हुन नसकेको र केही ढिलै भए पनि अवार्ड हुन लागेको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए ।

२० औं संस्करणमा आएर पल्सर स्पोर्टस अवार्डको स्वरुपलाई केही परिमार्जन गरिएको र मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचामा परिवर्तन गरिएको पनि अध्यक्ष सुवेदीले जानकारी दिए ।

विगतमा जस्तै यसवर्ष पनि अवार्डमा ९ विधा नै समावेश गरिएको छ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जनर्नालिस्ट अवार्ड प्रदान गरिनेछ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ ।

मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जनालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।

यसपटक वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्नेछ । पहिलो पटक ५ विधाका विजेताले बाइक पाउने भएका हुन् ।

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

पल्सर स्पोर्टस अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष सुवेदीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।

गतवर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरुणा शाही र प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी थिइन् ।

स्पेसल अवार्ड दानबहादुर तामाङ र उनकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको हो । पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जनर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको थियो ।

यसवर्ष पनि पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकललाई निरन्तरताले पाएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च र हंशराज हुलासचन्द एण्ड कम्पनीबीच अवार्डकै लागि सहकार्य भएको यो १५ औं वर्ष हो।

आइतबारै मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यू गोल्छा र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता आदान प्रदान गरे ।

अभिमन्यूले ५ वटा पल्सर स्पोनसर गर्ने जानकारी दिए । यस बाहेक १२ लाख रुपैयाँ नगद पनि प्रदान गरिने अभिमन्यूले जानकारी दिए ।

२२,पुष.२०८०,आईतवार १४:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्