परराष्ट्रमन्त्री र काजकस्तानका राजदूतबीच भेटवार्ता, द्विपक्षीय साझेदारीबारे छलफल

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र भारतका लागि काजकस्तानका राजदूत नुर्लान जाल्गस्बेयभबीच भेटवार्ता भएको छ ।

चौधरीकै आमन्त्रणमा नेपाल आएका नुर्लानले परराष्ट्रमन्त्री एनपी साउद, सहसचिव एसआर आरन तथा परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल डीके पौडेललगायतसँग भेट गरेका थिए ।

भेटमा नेपाल र काजकिस्तानको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

उनीहरुबीचको भेटवार्तामा द्विपक्षीय र बहुपक्षीय राजनीतिक सहकार्यका विषयमा चर्चा भएको थियो । दुई देशका परराष्ट्रमन्त्रीहरुबीच राजनीतिक परामर्श र द्विपक्षीय सहमतिका लागि संयुक्त प्रयासबारे पनि छलफल भएको थियो । त्यस्तै, दुई देशका नागरिकहरुलाई कुटनैतिक, अध्ययन, रोजगार, पर्यटन, तथा अन्य प्रयोजनका लागि काजकस्तान जाने व्यवस्थाबारे पनि कुराकानी भएको बताइएको छ ।

दुई देशबीच व्यापार, सुरक्षा तथा द्विपक्षीय लगानीको सहमतिको सम्भावना रहेको पनि चौधरीसँगको भेटमा भएको छ ।

काजकस्तानका लागि मानार्थ वाणिज्य दूतसमेत रहेको चौधरीले ठूलो परिवर्तनीय सहकार्य हुने आशा व्यक्त गरे । उनले दुई देशबीच व्यापार, अर्थतन्त्र, यातायाता, सञ्चार, द्विपक्षीय लगानी, दोहोरो करमुक्तिका विषयमा भएका चुनौतीलाई सम्बोधन गर्नुपर्ने बताए । ऊर्जामा धनि काजकस्तानले नेपालको आर्थिक र सामाजिक विकास, प्राकृतिक स्रोत तथा नेपालमा रहेको जलविद्युतका विकासमा योगदान गर्न सक्ने चौधरीले विश्वसा व्यक्त गरे ।

सीजी ग्लोबलले काजकस्तानमा २०१८ देखि नै ‘कजान’ ब्राण्डमा वाइ वाई चाउचाउको फ्याक्टरी सञ्चालन गरिरहेको छ । सन् २०१९ मे देखि भने मध्य एसियाका १२ वटा देशहरुमा पनि उत्पादन भइरहेको छ । वाइ वाइ ब्राण्ड नेपालमा र पूर्वी भारतमा चर्चित ब्राण्ड हो । विश्वमा युरोप, मध्य पूर्व, दक्षिण अफ्रिका गरी ३० वटाभन्दा बढी देशमा वाइ वाइ चाउचाउ बिक्री हुने गरेको छ ।

१०,माघ.२०८०,बुधबार १६:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्