लुम्बिनीमा नयाँ सरकारको गृहकार्य- मार्ग प्रशस्त गर्न कांग्रेसलाई नेकपा एमालेको आग्रह

रुपन्देही । केन्द्रमा नयाँ गठबन्धन बनाएका चार राजनीतिक दलले प्रदेशमा पनि नयाँ नेतृत्वका लागि तयारी थालेका छन् । समीकरण फेरिएसँगै कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेर संकटमा परेको छ ।

हाल लुम्बिनीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । प्रदेशसभाका १० मध्ये एमाले र राप्रपाबाहेक सबै दलले उनलाई समर्थन जनाएका छन् । माओवादी, एमालेसहितको सरकार बन्ने अवस्थामा मुख्यमन्त्री कुन दलले पाउने भन्नेबारे छलफल हुने नेताहरू बताउँछन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका ११ सांसद छन् । प्रष्ट बहुमतका लागि कम्तीमा ४४ सांसद चाहिन्छ । यो अवस्थामा एमाले र माओवादी केन्द्रले थप चार सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीका चार, जनमत, जसपा नेपाल र लोसपा नेपालका तीन/तीन सांसद छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसको २९ सांसद छन् । यस्तै, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको एक-एक सांसद छन् । एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले अन्य साना दललाई समेटेर सरकार निर्माण गर्ने बताए ।

नयाँ गठबन्धनको विषयमा एमाले संसदीय दलका नेता लीला गिरी र माओवादीले संसदीय दलका नेता जोखबहादुर महराले कुराकानी गरी केन्द्रको सहमतिअनुसार अघि बढ्ने भएको जनाए छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केन्द्रको समझदारी अनुसार अगाडि बढ्ने बताए ।

भागबन्डामा लुम्बिनी प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो केन्द्रबाटै लाग्ने एमाले-माओवादी केन्द्रका नेताहरूको भनाइ छ । एमालेले सरकारको नेतृत्व गर्ने अवस्थामा संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने छन् भने माओवादीले नेतृत्व लिने अवस्थामा माओवादी संसदीय दलका नेता जोगबहादुर महरा मुख्यमन्त्री बन्ने छन् । गिरी यसअघि माओवादीसँगको गठबन्धन सरकारमा मुख्यमन्त्री र महरा अर्थमन्त्री बनेका थिए ।

मार्गप्रशस्त गर्न एमालेको आग्रह

नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मार्ग प्रशस्तका लागि आग्रह गरेको छ । एमाले संसदीय दलका नेता लीला गिरीले केन्द्रमा दलीय समीकरण फेरिएको र प्रदेशमा पनि त्यो समीकरणअनुसार सरकार फेरबदल हुने भएकाले त्यसखालको आग्रह गरेको बताए ।

‘हामीले विगतमा सहज ढंगले समीकरण फेरिएसँगै बाटो खुला गरेका हौं, राजनीतिक दलले त्यो अवस्थालाई बुझेर अगाडि बढ्नुपर्दछ, कांग्रेसलाई त्यो जनाउ हामीले दिइसकेका छौं, सम्भवत छिट्टै केही आउला, नयाँ गठबन्धनका विषयमा केन्द्रबाट भएको सहमतिअनुसार जान्छौं, साझेदार दलसँग कुरा थालेका छौं’, उनले भने ।

मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी सोमबार दिनभर प्रधानमन्त्रीलाई भेट्न काठमाडौंमा थिए । शिखर सम्मेलनका विषयमा कुरा गर्न पुगेपनि सकारात्मक सन्देश नपाएपछि उनी निराश भई फर्किएका छन् । उनले मंगलबार क्याबिनेट बैठक राखेर आवश्यक निर्णय लिने तयारी गरेका छन् ।

२२,फाल्गुन.२०८०,मंगलवार ११:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्