कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त भएकी छन् । कोशी प्रदेश मन्त्री परिषद्को आज बसेको बैठकले रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्कीलाई नियुक्त गरेको हो ।

यस अघि नियुक्त भएकी उपाध्यक्ष जिनाजङ्ग कार्की अमेरिका गएपछि उनको ठाँउमा बिन्दियालाई नियुक्त गरिएको हो । यस्तै मन्त्रिपरिषद्को बैठकले बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री प्रदीप सुनुवारले जानकारी दिए ।

यसै गरी बैठकले प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले १४ वटै जिल्लाका १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले बताए । यस्तै, प्रदेश सरकारले २०८१ सालमा ५ दिन सार्वजनिक बिदा दिने मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको उनले बताएका हुन् ।

बैठकले प्रदेश सभाका २ जना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, सङ्घीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँड गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छयौट सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपि पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताएका हुन् ।

९,चैत्र.२०८०,शुक्रबार ११:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्