लुम्बिनी प्रदेशका जिल्लामा नेकपा एमालेको अधिवेशन तयारी : कहाँ क-कसको दाबेदारी ?

रुपन्देही । लुम्बिनी प्रदेशका जिल्लामा नेकपा एमालेको अधिवेशन तयारी भइरहँदा आकांक्षी धेरै भएकाले निर्वाचनको संकेत देखिएको छ । रुकुममा सर्वसम्मत नभएपछि चुनावबाट नेतृत्व छानिसकिएको छ । जेठभित्र अधिवेशन गरिसक्नुपर्ने केन्द्रको निर्देशनसँगै तयारी थालिएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल बताउँछन् ।

लुम्बिका १२ जिल्लामध्ये रोल्पामा अधिवेशन सकिएको छ । यहाँ पनि नेतृत्वका लागि चुनाव भउको थियो । पूर्वी रुकुममा चैत २९ र ३०, बर्दियामा जेठ १४ र १५ साथै बाँकेमा जेठ २ र ३ गतेलाई तोकिएको छ । अन्य जिल्ला पनि अधिवेशको गृहकार्यमा लागेका छन् ।

अध्यक्ष कँडेलका अनुसार आफ्नो अनुकूलमा अधिवेशन तोकिने भएपनि एक-अर्का जिल्लामा मिति नजुधाउने गरी समन्वय भएको छ ।

सबैभन्दा धेरै सदस्य भएको रुपन्देहीमा वर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे र उपसचिव चित्रबहादुर केसी आकांक्षी देखिएका छन् । १५ गते बैठक बसेर मिति टुंगो लगाउने केसीले बताए ।

‘मेरो नेतृत्वमा पूरै समय काम गर्न पाइएन, संघ, प्रदेश र स्थानीय तथको निर्वाचनमा बलियो गठबन्धनविरुद्ध राम्रो नतिजा निकाल्न सकियो, त्यही भएकै कारण पुनः दोहोरिने तयारीमा छु’, उनले भने ।

अध्यक्षका अर्का दावेदार गैरे भन्छन्, ‘पार्टीमा निरन्तर काम गरेपछि नेतृत्वको अपेक्षा स्वभाविक हो, अध्यक्षपछि उपाध्यक्ष आकांक्षी नभएपछि सचिवको पालो स्वभाविक हो, त्यही अनुसार मैले तयारी गरेको छु ।’

सैनामैनाका पूर्वमेयरसमेत रहेका चित्रबहादुर केसी पनि आफू तयारीमा लागेको बताउँछन् । तीनैजनालाई व्यवस्थापन गरेर सहमति गर्न पार्टी पंक्ति जुटेपनि सम्भावना क्षीण रहेको बताइएको छ ।

बाँकेमा पनि ४ जना आकांक्षी देखिएका छन् । अहिलेका अध्यक्ष किस्मत कक्षपति, नेकपाकालमा अध्यक्ष बनेका निरक गुरुङ, प्रदेश सदस्य घननाथ खनाल र केन्द्रीय लेखा आयोग सदस्य विजया धिताललाई मुख्य दाबेदारका रूपमा हेरिएको छ ।

बर्दियामा अहिलेका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष शालिकराम अधिकारी र सचिव पदम ढकालले तयारी गरेका छन् । रुकुमपूर्वमा अहिलेका अध्यक्ष टोपबहादुर वली दोहोरिने मुडमा छैनन् भने प्रदेश सदस्य लीलामणि गौतम, प्रदेश सल्लाहकार बलबहादुर केसी, किसान महासंघ अध्यक्ष ओपेन्द्रलाल कामी, प्रदेश सल्लाहकारहरू कैलाश मल्ल र पशुपति खड्का आकांक्षी छन् ।

एमाले प्रदेश कमिटी सदस्य मोहन चापागाईँले देशको ठूलो पार्टी भएकाले आकांक्षी बढ्नु स्वाभाविक रहेको बताउँछन् ।

‘जबजको सिद्धान्तअनुसार लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व छान्ने विषयलाई सहजै मान्नुपर्छ तर निर्वाचनमा कुनै गुट बनाएर प्यानल बनाएर जाने विषय राम्रो होइन, यसले पार्टीलाई पनि बलियो बनाउँदैन, व्यक्ति प्रतिस्पर्धामा गएर आफ्नो श्रेष्ठता देखाएर काम गर्नु राम्रो पक्ष हो’, उनले भने ।

१२,चैत्र.२०८०,सोमबार १०:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्