‘महाजात्रा’ हेरेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने, ‘चलचित्रले मलाई ऊर्जा दियो’

काठमाडौ‌ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेललाई लिएर आइतबार राति चलचित्र ‘महाजात्रा’ हेरे । आफू जात्रा सिक्वेलको नियमित दर्शक भएकाले हलसम्म आएको उनको भनाइ थियो ।

आम दर्शकसँगै बसेर चलचित्र हेरिसकेर लामिछानेले भने, ‘मलाई यो शृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो । त्यसैले आज फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ ।’

उनले नेपाली फिल्म हलमै आएर हेर्ने बानी बसाल्न दर्शकलाई सुझावसमेत दिएका थिए ।

फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको हुँदा आफू थप आकर्षित भएको उनले बताए । राजनीतिज्ञका रूपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएकोसमेत उनको भनाइ थियो ।

‘फिल्ममा मनोरञ्जनसँगै राजनीतिक विषय र देशको इस्युलाई समेटिएको छ । मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुस गरेँ । म र मेरो पुस्ताका नेताको उदय नै भ्रष्टाचार कम गर्न भएको हो,’ उपप्रधानमन्त्री लामिछानेले भने ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शन भइरहेको महाजात्रामा पहिलो दिनदेखि नै दर्शकको चाप देखिएको छ । हिजो निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ लगायतले होली कार्यक्रमसँगै विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।

१२,चैत्र.२०८०,सोमबार १०:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्