गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थी संख्या घटे

गुल्मी । गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थी संख्या घटेको छ । यो वर्ष गुल्मीबाट ४ हजार ९७ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् ।

गत वर्ष ४ हजार ७२२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

बसाइँसराइ र कम सन्तान जन्माउनु विद्यार्थी घट्नुको मुख्य कारण भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए । उनका अनुसार पछिल्लो ३ वर्ष लगातार विद्यार्थी संख्या घट्दै गएको छ ।

१५ चैतबाट सुरू हुने परीक्षामा गुल्मीबाट नियमिततर्फ ३ हजार ७९० जना र नियमित प्राविधिकतर्फ २९५ जना विद्यार्थी सहभागी हुने भएका छन् । ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षाका लागि सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ ।

गुल्मीमा एसईईका लागि २८ वटा परीक्षा केन्द्र तोकिएको छ । विद्यार्थी संख्या कम भएपछि गत वर्ष भएका २ वटा परीक्षा केन्द्र हटाइएको छ ।

१३,चैत्र.२०८०,मंगलवार १६:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्