सुदूरपश्चिम प्रदेशका ५५ हजार १० विद्यार्थी एसईई सहभागी हुने

डोटी । बिहीबारदेखि सुरु हुने विद्यालय शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशका ५५ हजार १० विद्यार्थी सहभागी हुने भएका छन् । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय, राजपुर डोटीले दिएको जानकारीअनुसार २७ हजार २४४ छात्र र २७ हजार ७६६ छात्रा एसईईमा सहभागी हुनेछन् ।

साधारण शिक्षातर्फ ५० हजार ८२४ र प्रविधिकतर्फ एक हजार ८४३ जना नियमिततर्फमा विद्यार्थीहरु सहभागि हुने निर्देशनालयका निर्देशक दुर्गादत्त बिष्टले जानकारी दिए । यस्तै ग्रेड वृद्धिका लागि दुई हजार ३४३ विद्यार्थी सहभागि हुनेछन् ।

निर्देशक बिष्टका अनुसार प्रदेशका नौ जिल्लाका दुई सय ११ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि दुई सय ११ केन्द्राध्यक्ष, तीन सय ७४ सहायक केन्द्राध्यक्ष तोकिएका छन् ।

दुई हजार ७४३ निरीक्षक, ५५५ सहायक कर्मचारी र एक हजार ९५ विद्यालय सहयोगी खटिनेछन् । निर्देशक बिष्टका अनुसार एक परीक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार १६३ जना प्रहरी परिचालन हुनेछन् ।

१४,चैत्र.२०८०,बुधबार १८:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्