सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का २ मन्त्रीको जिम्मेवारी तोक्ने मुख्यमन्त्री कमलबहादुर शाहको तयारी

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का विनाविभागीय दुई मन्त्रीको जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।

नाउपाको संस्थापक केन्द्रीय सदस्यको बैठकले सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले नाउपाका मन्त्रीको जिम्मेवारी तोक्ने तयारी गरेका हुन् ।

मुख्यमन्त्री शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका मन्त्रीहरूसँग छलफल गरी विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने तायारी गरेका हुन् ।

मुख्यमन्त्री निकट स्रोतकाअनुसार विनाविभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास र खुसीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

मुख्यमन्त्री शाहले जिम्मेवारी तोकेपछि बिहीबार नै उनीहरू सम्बन्धित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।

योसँगै नाउपाबाट सरकारमा सहभागी भएका पाँचै जनाले जिम्मेवारी पाउनेछन् ।

मुख्यमन्त्री शाहले यसअघि नाउपा दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए भने रामेश्वर चौधरी यसअघिदेखि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन् ।

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेका संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

तर, प्रदेश संसदीय दलले संरक्षक रेशम चौधरीबिना बसेको बैठकले गरेको उक्त निर्णय नमान्ने बताएको थियो ।

रेशमकै जोडबलमा नाउपाका ७ मध्ये मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुर्‍याउन पाँच जनालाई मन्त्री बनाइसकेका छन् । तर, नाउपामा देखिएको विवादले शाहलाई बहुमत पुर्‍याउन सकस पर्ने देखिएको छ ।

१५,चैत्र.२०८०,बिहीबार १०:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्