त्रिविको उत्तरपुस्तिका हराएको घटना छानबिन र कारबाही गर्न अनेरास्ववियुको माग

काठमाडौं । स्नातक तह प्रथम वर्षको उत्तरपुस्तिका हराएको घटना छानबिन गरी कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै स्नातक प्रथम वर्षको १६५ थान पपुलेशन र १७६ थान एजुकेशनको उत्तरपुस्तिका हराएको घटनामा छानबिन गरी कारबाहीको माग गरेको हो ।

त्रिविमा हुने गैर जिम्मेवारीपन, उदासीनता र ढिलासुस्ती गर्ने प्रवृत्तिप्रति तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले माग गरेको छ ।

यस गतिविधिमा संलग्न सबैलाई कारबाही नगरेमा आफैले कारबाही गर्ने चेतावनी समेत अनेरास्ववियुले दिएको छ ।

त्यस्तै, अनेरास्ववियुले आफ्ना मागलाई बेवास्ता गरिएमा थप सशक्त आन्दोलन गर्ने र आन्दोलनबाट निम्तने परिस्थितिको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय रहने चेतावनी समेत दिएको छ । ।

परीक्षा सञ्चालन भएको एक वर्षसम्म पनि परीक्षाको नतिजा सार्वजनिक गर्न नसक्नु र परीक्षार्थीले दिएका उत्तरपुस्तिका हरायो भन्नु परीक्षा नियन्त्रण कार्यालयको गम्भीर लापरबाही रहेको कमिटीको भनाई छ ।

नतिजा सार्वजनिक गर्ने समयमा बारम्बार उत्तरपुस्तिका हराउने, पुनः परीक्षा लिने जस्ता गैर जिम्मेवारपूर्ण क्रियाकलापले समग्र विश्वविद्यालयको प्राज्ञिक गरिमा र विद्यार्थीहरूको भविष्यमाथि गम्भीर सङ्कटको सङ्केत पैदा गराएको अनेरास्ववियुले विज्ञप्तिमा उल्लेख छ ।

१५,चैत्र.२०८०,बिहीबार १३:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्