नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ ६९ वर्षमा प्रवेश

काठमाडौं । नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ ६९ वर्षमा प्रवेश गरेको छ ।

वि.सं. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । त्यसैले नेपाल पत्रकार महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

स्थापनाको ६९ औं वर्षमा प्रवेशको अवसरमा महासंघका अध्यक्ष विपुल पोख्रेलले विज्ञप्ति जारी गरी आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको स्मरण गर्दै अध्यक्ष पोख्रेलले यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ केन्द्रीय समिति गर्व गरेको उल्लेख गरेका छन् ।

आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहनुपर्ने आवश्यकताप्रति उनले सबैको ध्यानाकर्षण गराएका छन् ।

अहिले सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको भन्दै अध्यक्ष पोख्रेलले नयाँ कानुन निर्माण र बनेका कानुनहरुको सही ढंगले कार्यान्वयनका सन्दर्भमा चाहेचस्तो उपलब्धि नदेखिएको बताएका छन् । स्थापना दिवसको अवसरमा उनले पुनः सरोकार पक्षसँग पर्याप्त छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानून निर्माणको प्रकृया अघि बढाउन आग्रह गरेका छन् ।

पत्रकार महासंघलाई विशुद्ध श्रमजीवी पत्रकारको साझा संस्था बनाउनका लागि महासंघको सदस्यता शुद्धीकरण अभियानलाई अगाडि बढाइएको, श्रमको आन्दोलनलाई अगाडि बढाइएको तथा संवाद, दवाव र न्यायिक लडाइमार्फत श्रमजीवि पत्रकारहरुको अधिकार सुनिश्चित गर्ने दिशामा महासंघ अनवरत रुपमा अगाडि बढीरहेको उनले उल्लेख गरेका छन् ।

१६,चैत्र.२०८०,शुक्रबार १०:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्