कर्मचारीको तलब बढाएर जनताको मत जितिँदैन : सांसद विष्णुकुमारी सापकोटा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले भूगोलको विविधता र सीमान्तकृत समुदायको आवश्यकताका आधारमा राज्यको नीति तय हुनुपर्ने बताइन् ।

‘हामीहरु बजेट भाषण गर्छौं, कर्मचारीको तलब बढाऔं भन्छौं । विभिन्न कुराहरु गर्छौं । तर, कर्मचारीको तलब बढाउँदैमा हुन्न । सर्वसाधारण नागरिकहरुको गुजारा कसरी चल्छ ? उहाँहरुको जीविकोपार्जनका लागि हामीले के सोच्ने ? उहाँहरुको लागि सोचेर बजेट निर्माण गर्नुपर्छ’, उनले भनिन् ।

नेपालले नेपालभित्रै उपलब्ध साधन र स्रोत पहिचान गरेर उपयोग गर्दै अगाडि बढ्नुपर्ने उनको सुझाव छ । अन्य मुलुकले विकास निर्माणका लागि अवलम्बन गरेका नीति भन्दा नेपालको सन्दर्भमा फरक नीति अवलम्बन हुन सक्ने भनी फराकिलो भएर सोच्न पनि उनको आग्रह छ ।

सस्तो र सुलभ तरिकाले नागरिकलाई सेवा दिनुपर्ने सांसद सापकोटाले बताइन् । यसो गरे विदेश पलायन हुनेक्रम रोकिने उनको विश्वास छ । उनी भन्छिन्, ‘युवाहरुलाई देशभित्रै राख्न धेरै कुराहरु गर्न सक्छौं र त्यस्तो प्रचुर सम्भावनाहरु पनि छन् । हिमाली र पहाडी क्षेत्रमा के गर्न सकिन्छ सोचौं ।’

मरुभूमि जस्ता अरबियन देशहरु आफैंसँग भएको पेट्रोलियम पदार्थको प्रयोग गरेर धनी भएको उल्लेख गर्दै उनी थप्छिन्, ‘हामीसँग भएका स्रोतहरु किन प्रयोग नगर्ने ?’

१६,चैत्र.२०८०,शुक्रबार १५:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्