अप्रिल ८ तारिख अर्थात् चैत २६ गते अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्दै, नेपालमा असर नपर्ने

एजेन्सी । अप्रिल ८ तारिख अर्थात् चैत २६ गते अमेरिकामा खग्रास सूर्यग्रहण लाग्दै छ । यस दिन अमेरिकामा दिउँसै अँध्यारो हुने खगोलविदहरुले बताएका छन् ।

तर नेपालबाट भने सूर्यग्रहण देखिने छैन । वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुर काठमाडौंका वेधशाला व्यवस्थापक एवम् सूचना अधिकारी सरोजराज शाहीले सूर्यग्रहणको असर नेपालमा नपर्ने र नेपालबाट नदेखिने बताए ।

शाहीले भने, ‘सूर्यग्रहणको असर अमेरिकामा देखिने हो । मेस्किको, क्यानडा लगायतका ठाउँमा यसको प्रभाव देखिन्छ तर नेपालसहित एसियाली मुलुकमा भने सूर्यग्रहणको असर देखिँदैन ।’

यस वर्षको सुरुवातमा गत वैशाख ७ र असोज २७ गते लागेको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन ।

सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा सूर्यग्रहण लाग्छ । सामान्यतया, यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले हुन्छ र केही समयका लागि कुनै खास क्षेत्रमा अन्धकार हुन्छ ।

२५,चैत्र.२०८०,आईतवार १२:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्