मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीका लागि विज्ञापन खुल्छ, भर्ना लिइँदैन

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मातहतको प्रदेशिक अस्पताल जनकपुरको कर्मचारीको लागि १ साउन २०७९ मा विज्ञापन खुलायो । मेडिकल अंकोलोजिस्ट (नवौं तह) देखि कार्यालय सहयोगीसम्म ३५ पदमा ५० जना कर्मचारीको लागि आवेदन मागेको थियो । १५ सयभन्दा बढीले आवेदन दिए । आवेदन दस्तु १५ सयदेखि ५ सय रुपैयाँसम्म थियो ।

केही पदमा भर्ना लिइयो । तर एचए, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी जस्ता पदमा भर्ना नै लिइएन । चुनावको आचारसंहिता लागेपछि त्यसबेला केही पदमा भर्ना रोकिएको प्रतिष्ठानका रजिस्टार डा. विनोद यादव बताउँछन् ।

तर अहिलेसम्म त्यसको भर्ना लिइएको छैन । नत प्रतिष्ठानले उम्मेदवारको दस्तुर नै फिर्ता गरेको छ । ‘विज्ञापन खुलाएपछि भर्ना लिनुपर्थ्यो, कि त दस्तुर फिर्ता गर्नुपर्थ्यो । तर केही गरेन । विज्ञापन खोलाएर हामी जस्ता वेरोजगारलाई थप लुट्नेकाम मात्रै प्रतिष्ठानले गर्यो’ कार्यालय सहयोगीमा दरखास्त दिएका धनुषाको हंसपुर नगरपालिका–६ का २७ वर्षीय परमेश्वर मण्डल गुनासो गर्छन् ।

त्यो विज्ञापनका बाँकी पदमा भर्ना नलिँदै प्रतिष्ठानले एक वर्षपछि १० असोज २०८० मा फेरि अर्को करार सेवाका लागि दुईवटा विज्ञापन आह्वान गरेको थियो ।

अस्पतालका कन्सल्ट्यान्ट चिकित्सक, चिकित्सक, मेडिकल ल्याब टेक्निसियन, स्टाफ नर्स, कम्प्युटर इन्जिनियर, कानुन अधिकृत लगायत विभिन्न पदमा ६५ जना कर्मचारीका लागि विज्ञापन खुलेको सूचना प्रकाशित गरेको थियो । आवेदन दस्तुर ५ सय रुपैयाँदेखि १५ सयरुपैयाँसम्म तोकिएको थियो ।

रजिस्ट्रार यादवका अनुसार यी दुई विज्ञापनमा करिब ३ सय जनाले दरखास्त दिएका छन् । यो विज्ञापनको भर्ना पनि हलासम्म लिइएको छैन ।

त्यसबेला प्रतिष्ठान उपकुलपति विहीन हुँदा मुख्यमन्त्री कार्यालयले दीर्घकालीन असर पर्ने काम नगर्न पत्र पठाएपछि भर्ना रोकिएको तत्कालीन डीन एवम् वर्तमान उपकुलपति डा. अंकुर साह बताउँछन् ।

२५ चैतमा फेरि प्रतिष्ठानले प्रादेशिक अस्पताल जनकपुरका लागि विगतको झैं विभिन्न पदमा ७६ जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । आवेदन दिने म्याद आगामी १ वैशाखसम्म छ । यो विज्ञापनमा पनि आवेदन दस्तुर ५ सय रुपैयाँदेखि १५ सयसम्म तोकिएको छ ।

विगतमा गरेका विज्ञापनहरुको भर्ना नलिएर फेरि नयाँ विज्ञापन गरेको भन्दै प्रतिष्ठानको आलोचना भइरहेको छ । बेरोजगारबाट पटक-पटक दस्तुर लिएर फारम भराउने, तर भर्ना नलिएर थप पीडित बनाउने काम प्रतिष्ठानले गरिरहेको स्थानीयको गुनासो छ ।

२०७९ साउनकै विज्ञापनमा एचए पदमा दरखास्त दिएका धनुषाको शहीदनगर नगरपालिका ८ विसरभोराका विवेक यादवले विगतमा गरेको विज्ञापनको भर्ना नलिएर पछि अन्य विज्ञापन खुलाउनु प्रतिष्ठानले गलत गरेको गुनासो गरे ।

‘मात्र विज्ञापन गर्ने काम मात्र प्रतिष्ठानले गरिरहेको छ । विगतमा गरेको विज्ञापनको पहिला भर्ना लिनुपर्थ्यो नि !’ उनी भन्छन् ‘अहिले फेरि विज्ञापन गरेछ । भर्ना कहिले लिने निश्चित छैन । यसरी ठग्ने काम ठीक होइन ।’

२५ जेठमा प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. रामकेवल साहको निधन भएपछि मुख्यमन्त्री सरोज कुमार यादवले रिक्त पदमा डा. अंकुर साहलाई नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति साहले विगतमा भएका विज्ञापन अनुसार यसपटक सबैको भर्ना लिने बताए । ‘विगतमा भएका विज्ञापन निरन्तर रहन्छ । विगतका दरखास्तकर्ताले फेरि भर्नु पर्दैन । यसअघि भएको विज्ञापनको लागि छुटेकाहरुका लागि मात्र एक हप्ता समय थप गरेर विज्ञापन गरिएको हो, यसपालि विगतमा छुटेका सबै विज्ञापनको भर्ना हुन्छ,’ उनले भने ।

२९,चैत्र.२०८०,बिहीबार ०९:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्