बर्दघाट महोत्सवमा दुर्गेशले छाडा शब्द बाेलेकाे भन्दै सरोकारवालाको विरोध

रूपन्देही । नवलपरासीको बर्दघाटमा आयोजित सातौं कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक मेलामा दिएको प्रस्तुतिलाई लिएर गायक दुर्गेश थापा विवादमा तानिएका छन् । कार्यक्रममा उनले ‘छाडा’ शब्दहरु प्रयोग गरेर र्‍याप गाएको भन्दै सरोकारवालाले विरोध गरेका हुन् ।

मेलाको सोमबार गरिएको समापन समारोहमा बोल्ने अधिकांश वक्ताहरुले संगीतका नाममा भित्रिएको विकृतिप्रति चिन्ता व्यक्त गरे । दुर्गेशको प्रस्तुतिलाई लक्ष्यित गर्दै उनीहरुले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका थिए ।

बर्दघाट व्यापार मेला समापनको अघिल्लो दिन आइतबार साँझ दुर्गेश थापाको प्रस्तुती थियो । उनले गीतहरुसँगै र्‍याप पनि सुनाएका थिए । र्‍यापमा प्रयोग भएका शब्दहरुलाई लिएर असन्तुष्टि देखिएको हो । सबै उमेर समूहका दर्शकहरु आएको महोत्सवमा यस्ता शब्दहरु प्रयोग गर्नु वाञ्छनीय नभएको टिप्पणी गरिएको छ ।

दुर्गेशको र्यापको एउटा अंश यस्तो थियोः
न त मिल्छ सुर मेरो न त मिल्छ ताल
हाम्रो लाइफ हाम्रो मर्जि तँलाई के को बाल
हिरो बन्ने होइन मुला आउला फेरि काल
आज छिरेँ चौकी भोलि निस्किहाल्छु बाल
गर्नेवाला छैन कोही मलाई यहाँ सवाल
सवाल खोज्न आए भने गरिदिन्छु बबाल
दुर्गेशले र्‍यापमा एकाधपटक मा… मु… पनि भनेका थिए । उनले यस्ता शब्द बोल्दा स्टेजमा नै रहेका महिला अतिथिहरुको मुख रातोपिरो भएको थियो ।

त्यस्तो त दुर्गेशको प्रस्तुतिमा दर्शक खुबै रमाएका पनि थिए । उनले पनि दर्शकलाई मनोरञ्जन गराउन कुनै कसर छोडेनन् । सँधैजस्तो उनी बिन्दास र उन्मुक्त हाउभाउमा देखिएका थिए ।

समापन समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले मनोरञ्जनको नाममा विकृति भित्रिन नहुने बताए । मेला–महोत्सवले कला–संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सक्नु पर्नेमा उनले जोड दिए ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ ले गीत–संगीतका नाममा देशैभर विकृति मौलाउन थालेको बताए ।

दुर्गेश थापाको प्रस्तुतीलाई ईंगित गर्दै कुलपति न्यौपानेले भने, ‘माथिबाट आयात गरिएका केही कलाकारले अश्लीलताका माध्यमबाट आफ्नो प्रचार र बिज्ञापन गरेर जान्छन् । एकछिनका लागि ताली बज्ला, वाहवाही त होला, केहीले रुचाउलान् पनि, तर यस्ता प्रस्तुतिले संस्कृतिको जगेर्ना हुँदैन ।’

मेला–महोत्सवमा स्थानीय पहिचान र कला सस्कृती झल्किन सक्नुपर्ने डा.न्यौपानेको जोड रहेको थियो । समापन समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका सामाजिक बिकास समिति संयोजक भिमकाजी गुरुङ, उद्योग बाणिज्य संघका सल्लाहकार दामोदर जिसी, पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने एवम् लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका सल्लाहकार एकदेव पाण्डेले संस्कृतिका नाममा अभद्र प्रस्तुति हुने गरेको र यसले बाल मनोबिज्ञानमा नकारात्मक असर परेको बताए । मेला महोत्सवमा पुराना कलाकारहरु समेटिन नसक्नु दुखद रहेको सल्लाहकार पाण्डेको भनाई थियो ।

मेला हेर्न आएका एक दर्शकले भने, ‘गीत गाउने भन्दैमा मुखमा आएको फोहोरो बोलेको छ । आमा, दिदी–बहिनी र छोराछोरीसँग बसेर त हेर्नै नमिल्ने खालको रहेछ । कलाकार भन्दैमा खुलमखुला यस्तो बोलेर पनि सस्कृतिको जगेर्ना हुन्छ ?’

मेलामा समाचार संकलनका लागि पुगेका स्थानीय पत्रकार नारायण भण्डारीले दुर्गेश थापाको प्रस्तुती भइरहँदा आफूसँगै आएको छोराले समेत मेलामा यस्तो बोल्न पाइन्छ र भनेर प्रश्न गरेको सुनाए ।

बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले दुर्गेश थापासँग आपत्ति जनाइएको बताएका छन् ।

‘मेले भेटेरै भने आइन्दा यस्तो शब्द बोल्नुभयो भने तपाईलाई महोत्सवमा बोलाइदैन भनेर मैले आपत्ति जनाएको छु,’ अध्यक्ष न्यौपानेले भने ।
अश्लिलता र अभद्र प्रस्तुतीकै कारण केही कलाकारलाई यो बर्ष नबोलाइएको न्यौपानेले स्पष्ट पारे ।

४,बैशाख.२०८१,मंगलवार १३:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्