भोजपुरमा पेस्तोल देखाएर लुटपाट गरेका व्यक्तिबाट थप २१ राउण्ड बुलेट र म्याग्जिन फेला

काठमाडौ । काठमाडौ भोजपुरमा पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका व्यक्तिबाट थप २१ राउण्ड बुलेट र थप म्याग्जिन फेला परेको छ।

वैशाख २ गते (आइतबार) लुटपाट गरेको आरोपमा प्रहरीले टेम्के मैयुङ गाउँपालिका वडा नं. १ तिम्मा बस्ने ३७ वर्षीय सुमित परियारलाई पक्राउ गरेको थियो। बुधबार फेरि थप २१ राउण्ड बुलेट र थप म्याग्जिन फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सुदीपराज पाठकले जानकारी दिए।

उनले वैशाख २ गते बिहान ९ बजे षडानन्द नगरपालिका वडा नम्बर २ बस्ने ८५ वर्षीय पासाङ ल्हामु शेर्पालाई जुगे जंगलमा पेस्तोल देखाएर सुनका गरगहना तथा नगद लुटपाट गरेको आरोप थियो। वैशाख २ गते अपराह्न ५ बजे लुटपाट भएको भन्ने खबर प्रहरीलाई प्राप्त भएको थियो।

उक्त खबरपछि प्रहरीको टोलीले सोही दिन राति ८ बजे षडानन्द-९ स्थित भुल्केटोलस्‍थित जंगल जाने मूलबाटोमा परियार भेटेको डिएसपी पाठकले बताएका थिए। उनीमाथि सोधपुछ तथा उनको झोला खोलेर हेर्दा पेस्तोल र शेर्पाका गरगहना फेला परेको थियो।

त्यतिबेला उनीबाट एउटा पेस्तोल, एउटा म्याग्जिन, ७ वटा गोली, सेतो प्लाष्टिकमा बेरिएको चार वटा गोली, ९ हजार रुपैयाँ बरामद समेत गरिएको थियो।

उनी नेकपा विप्लव समूहबाट नेकपा बहुमत समूह हुँदै अहिले नेकपा वैद्य समूहमा आबद्ध रहेको खुलेको थियो।

यसअघि २०७६ फागुन २१ गते संगठित अपराध, आपराधिक उपद्रव, एनसेलको टावर आगजनी, जेसिबी आगजनी, राज्यविरूद्धको कसुर लगायत पाँच वटा मुद्दामा उनलाई ३ वर्ष ३ महिना कैद सजाय तोकिएको थियो। उनी उक्त सजाय भुक्तान गरी २०८० भदौमा कारागारबाट छुटेका थिए।

५,बैशाख.२०८१,बुधबार १६:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्