लुम्बिनी सरकारलाई पूर्णता दिने तयारी : सहमति अनुसार नभए बाहिरिने जसपा र नेकपा एसको चेतावनी

रुपन्देही । चैत २३ गते मुख्यमन्त्री बनेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। आज नै मन्त्रिपरिषद् बिस्तार गर्ने गरी तयारी गरिएको एमालेका एक सांसदले बताए ।

सरकारमा सहभागी पाँच राजनीतिक दललाई सरकारमा सहभागी गराउने गरी मुख्यमन्त्रीले दलहरूबाट मन्त्रीको नाम माग गरेको उनको सचिवालयले जनाएको छ। तर सरकारमा सहभागी जसपाले सहमति अनुसार मन्त्रालय नदिएको भन्दै सरकार छाड्ने चेतावनी दिएको छ ।

३ सांसद रहेको जसपालाई २ मन्त्री दिने सहमति माओवादीले गरे पनि पछि ४ सांसद रहेको नाउपा सरकारमा आएपछि जसपालाई कटौती गरेर नाउपालाई दिइएको छ । जसपा प्रदेश अध्यक्ष अशोक यादवले सरकारले सहमति पालना नगरेकोले आफूहरू सरकारबाट बाहिरिन सक्ने चेतावनी दिए । ‘हामीले सहमतिबमोजिम मन्त्रालय नपाएपछि बस्ने कुरा हुँदैन, त्यो कुराको जनाउ गरिसकेका छौँ ’ उनले भने ।

चैत २३ मा महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक/एक जना मन्त्री बनाइसकेका छन्। अब बाँकीलाई मन्त्रीमा सहभागी गराएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ।

लुम्बिनी प्रदेश सरकारमा एमालेले दल उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सहभागिता जनाउने छ। आचार्य मन्त्री बनिसकेका छन्। उनको जिम्मेवारी तोकिएको छैन। तर, आचार्यले अर्थ मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी पाउने छन्।

एमालेबाट अब सरकारमा भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्रीको रूपमा पठाउने गरी नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ। ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने देखिएको छ।

माओवादीबाट सरकारमा दीपेन्द्र पुन मन्त्री बनिसकेका छन्। माओवादीबाट थप एक जना कृष्णा केसी मन्त्री बन्नेछिन्। पुनले स्वास्थ्य र केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ। जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन्। उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने छन्।

नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ। सो दलभित्र कसलाई मन्त्रीको रूपमा पठाउने भन्ने बारेमा छलफल चलिरहेको छ। स्वतन्त्र सांसद खड्ग बस्नेत पनि मन्त्री बन्दैछन्। उनले पर्यटन, उद्योग र सहकारी मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ।

आज यसअघि मन्त्री बनेका आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि मन्त्रालय दिने र अरूलाई बिना विभागीय मन्त्री बनाउने तयारी मुख्यमन्त्रीले गरेका छन् ।

यसरी मन्त्रालयको भागबन्डा गर्दा लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन्। दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ। मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूको बीचमा जसपालाई दुई, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियो।

तर, यो सहमतिअनुसार तत्काल नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी नहुने भएपछि उसले पनि असन्तुष्ट जनाएको छ।

‘सरकारमा सहभागी हुनेबारे छलफल नगरिएको ‘नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कार्यालयका सचिव सुदन खनालले जनाएका छन् । नेकपा एस र जसपाले असन्तुष्टि जनाएर सरकारमा नबसे सरकालाई बहुमतको अर्को संकट आइलाग्ने छ ।

यस अघि प्रदेशमा रहेका विषयगत समितिमा पनि एमाले, माओवादीले साना दललाई सल्लाह नगरी टुंगाएको आरोप उनीहरूको छ । कमजोर जगमा बनेको सरकारमा साना दल असन्तुष्टि बन्दा सरकारको भविष्यलाई चुनौती थपिने छ । ८७ सदस्य प्रदेश सभामा ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ । सरकारमा एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र १ स्वतन्त्र सांसदहरूले समर्थन जनाएका छन् ।

बिहीबार मुख्यमन्त्रीले सरकार बिस्तारको तयारी गर्न थाले पनि जसपा, नागरिक उन्मुक्ति र नेकपा एसको संयुक्त बैठक बसेर सहमति पालना नभए सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने गरी शुक्रवार बसेर निर्णय लिने दाबी जसपा प्रदेश अध्यक्ष अशोक यादवले बताए । ‘सरकारले हामीलाई बाइपास गर्‍यो, जसपा, नाउपामा प्रमुख सचेतक राजकुमार चौधरी, नेकपा एस बसेर भोलि आधिकारिक निर्णय दिने सल्लाह भएको छ’ उनले भने । यी तीन दलले समर्थन फिर्ता लिएर सरकारलाई संकट पुग्ने निश्चित छ ।

६,बैशाख.२०८१,बिहीबार ११:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्