युक्रेन, इजरायल र इन्डोप्यासेफिक क्षेत्रका लागि ९५ बिलियन डलरको सहायता अमेरिकी संसदबाट पास

एजेन्सी । अमेरिकाको संसदले युक्रेन, इजरायल लगायतका देशहरुलाई सैन्य सहयोग गर्नका लागि ९५.३ बिलियन डलर बराबरको सहायता प्याकेजलाई मन्जुरी दिएको छ ।

न्यूयोर्क पोष्टका अनुसार तल्लो सदनले अलग–अलग सहयोग प्याकेजलाई मन्जुरी दिएको हो । यो सहयोग प्याकेज अधिकांश प्रत्यक्ष सैन्य सहायतासँग सम्बन्धित छ ।

तल्लो सदनले पास गरेको सहयोग प्याकेज अब माथिल्लो सदनमा पेश हुनेछ । त्यहाँबाट पनि पास भएर कार्यान्वयन प्रक्रियामा जान अझै करिब एक हप्ता लाग्ने अनुमान छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सहयोग घोषणाको प्याकेजमा हस्ताक्षर गरेर कानुनी रुप दिने बताएका छन् ।

बीबीसीका अनुसार अमेरिकाले युक्रेनलाई ६०.८ बिलियन (करिब ६१ बिलियन) डलर बराबरको सहयोग गर्ने छ । यसमा पनि ८० प्रतिशतभन्दा बढी राशी रुससँगको युद्धमा युक्रेनलाई सहयोग गर्ने कुरामा छ । यो सहयोगमा अमेरिकाबाट निर्मित हतियार, गोलाबारुदको आपूर्ति लगायत छन् । यो प्याकेजको करिब ९.५ बिलियन अमेरिकी डलर माफीयोग्य ऋणको रुपमा छ ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेनेस्कीले सहयोग प्याकेजमा प्रतिक्रिया जनाउँदै अमेरिकाप्रति आभार व्यक्त गरेका छन् । लोकतन्त्र र स्वतन्त्रता सधैं महत्वपूर्ण रहने बताउँदै उनले भनेका छन्, ‘जबसम्म अमेरिकाले यसको रक्षामा मद्दत गर्दछ, तबसम्म यो (लोकतन्त्र र स्वतन्त्रता) कहिल्यै विफल हुँदैन ।’

सैन्य सहयोगको प्याकेज पास गर्ने कि नगर्ने भन्ने विषयमा संसदमा भोटिङ भएको थियो । रिपब्लिकन सांसदहरुले विपक्षमा मतदान गरेका थिए । डेमोक्रेटिक सांसदहरुले भने पक्षमा मतदान गरे । उक्त बिल पाए भएपछि डेमोक्रेटिक सांसदहरु युक्रेन–युक्रेन भन्दै खुसीयाली मनाएका थिए ।

अमेरिकी तल्लो सदनबाट इजरायलको पक्षमा करिब १७ बिलियन अमेरिकी डलर र गाजा लगायतका युद्धग्रस्त क्षेत्रका लागि ९ बिलियन डलरभन्दा बढीको मानवीय सहायता प्याकेज पनि पास भएको छ ।

यसैगरी अर्को सहायता प्याकेज इन्डो–प्यासेफिक क्षेत्रका लागि छ । इन्डो–प्यासेफिक क्षेत्रका लागि ८.१ बिलियन डलर छ । यसको आधा हिस्सा ताइवानका लागि छुट्याइएको छ । यो सहयोग चीनको बढ्दो प्रभावलाई रोक्ने उद्देश्यसँग सम्बन्धित रहेको न्यूयोर्क पोस्टले जनाएको छ ।

यसैगरी रिपब्लिकन सांसदहरुका प्राथमिकतासँग सम्बन्धित अर्को एक बिल छ ।

अमेरिकी सदनमा विदेश मामिला समितिका अध्यक्ष माइकल म्याक्कोलले सदनमा सम्बोधन गर्दै नराम्रो अवस्था बढ्दै गइरहेकाले अमेरिकाका विरोधीहरुविरुद्ध अब काम गर्ने समय आएको बताएका थिए । ‘हाम्रा विरोधीहरु पश्चिमी मुलुकलाई कमजोर बनाउन र लोकतन्त्र नराम्रो हो भन्ने सावित गर्न मिलेर काम गरिरहेका छन्,’ उनले भनेका थिए, ‘नराम्रो हुँदै गएको छ । इतिहासको माग छ, अब काम गर्ने बेला भएको छ ।’

९,बैशाख.२०८१,आईतवार ०९:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्