एमालेलाई देउवाको प्रश्न, मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले रोक्या छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन भन्दै प्रश्न गरेका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले कांग्रेसको विरोध गर्दैमा भण्डारीको हत्यारा पत्ता नलाग्ने बताए ।

उनले भने, ‘मदन भण्डारीको विषयमा मेरो राम्रै कुरा गर्ने इच्छा थियो । तर, अहिले बीचमा आएर उहाँहरुले कांग्रेसलाई गाली गर्नुभयो । एमालेले गाली गरेपछि मैले जवाफ दिनु परिहाल्यो । मलाई गाली गर्नेहरुले मदन भण्डारी मारेको कुरा किन भन्न सक्दैन ? रहस्यमय ढंगले मारिएको छ, कसले रोकेको छ खोज्नलाई ? कांग्रेसले रोक्या हो ? आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गरेर हिँड्ने ?’

उनले भण्डारीको हत्यारो को हो अझै पत्ता लगाउन नसकेकोप्रति असन्तुष्टि जनाए ।

सभापति देउवाले थपे, ‘हुँदाहुँदा उसको डाइभर पनि मारियो । त्यो पनि पत्ता लागेको छैन । कांग्रेसको विरोध गर्न सजिलो होला । तर, आफ्नो कुरा पनि भन्नुपर्‍यो नि ! दुई पटक राष्ट्रपति बन्नुभयो । सबै प्रधानमन्त्री बनिसके खोइ पत्ता लागेको ? त्यसैले मलाई गाली गरेर केही हुनेवाला छैन । पत्ता लगाउनुस् ।’

१०,बैशाख.२०८१,सोमबार १४:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्