सार्वजनिक बिदाबारे गृहमन्त्रीको प्रष्टीकरणः तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन् ।

कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा धेरैले सार्वजनिक विदाको औचित्यमा प्रश्न उठाएपछि लामिछानेले सामाजिक सञ्जालबाटै प्रतिक्रिया जनाएका हुन् । अनावश्यक विदा, भीआइपी सवारी नामको नागरिकले पाउने सास्ति लगायतका थुप्रै विषयमा पदबहाल गरेको दिनदेखि नै आफूले लगातार काम गरिरहेको उनले बताएका छन् ।
‘रिजल्ट आउँदैछ । जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले लेखेका छन्, ‘हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरु सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनुभए पुग्छ ।’

लामिछानेले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, नेपालका लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका राजालाई नेपालमा ससम्मान स्वागत गर्ने बताएका छन् ।

११,बैशाख.२०८१,मंगलवार १०:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्