०८४ को चुनावलाई मिसन समाजवादका रूपमा लिनुपर्छ : नेत्रविक्रम चन्द्र विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले ०८४ को निर्वाचनलाई मिसन समाजवादका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा भएको केन्द्रीय प्रतिनिधि समिति बैठकलाई सम्बोधन गर्दै चुनाव पनि संघर्षको एउटा मोर्चा भएको बताए।

उनले भने, ‘चुनाव राजनीतिक संघर्षको एउटा मोर्चा हो । यसलाई नयाँ मोर्चाको रूपमा लिएर अघि बढ्नुपर्छ । ०८४ को चुनावलाई मिसन समाजवादका रूपमा बुझेर यसलाई समाजवादको लडाइँको मोर्चाका रूपमा अगाडि बढाउनुपर्छ ।’

संविधान संशोधन गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्ने बहस चलाउनुपर्ने उनको भनाइ छ । चुनावलाई पनि समाजवादका लागि प्रयोग गर्नुपर्ने उल्लेख गर्दै सबै ढोका खोलेर लड्ने पार्टीको रणनीति भएको बताए ।

माओवादी धारलाई रूपान्तरण गर्दै एकतामा ल्याउन नेकपाले निर्णायक भूमिका खेल्नुपर्ने समेत बताए । हालै भएको नेकपाको केन्द्रीय समितिको बैठकपछि केन्द्रीय प्रतिनिधि समितिको बैठक बसेको हो । बैठकमा महासचिव विप्लवको राजनीतिक प्रस्ताव र ६ महिने पार्टीको आगामी योजनाबारे छलफल भएको छ ।

११,बैशाख.२०८१,मंगलवार १३:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्