गायकवाडको शतक र दुबेको विस्फोटक ब्याटिङका बाबजुद हार्‍यो चेन्नई

काठमाडौ । काठमााडौ कप्तान रूतुराज गायकवाडको शतक र शिवम दुबेको विस्फोटक ब्याटिङका बाबजुद चेन्नई सुपर किंग्स पराजित भएको छ।

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति भएको खेलमा चेन्नई लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको हो।

चेन्ननईले दिएको २११ रनको लक्ष्य लखनउले ४ विकेट गुमाएर ३ बल बाँकी छँदै पार गर्‍यो।

अन्तिम ओभरमा १७ रन आवश्यक रहँदा लखनउका मार्कस स्टोइनिसले ३ बलमै पूरा गरे।

ओभरको पहिलो बलमा छक्का प्रहार गरे भने दोस्रो बलमा चौका।

मुस्ताफिजुर रहमानको तेस्रो बल वाइड र नो बल हुन पुग्यो। त्यसमा स्टोइनिसले चौका प्रहार गर्दै तीन बल बाँकी छँदै चेन्नईलाई उसकै घरमा हराएको हो।

स्टोइनिसले शतकीय पारी खेले। ६३ बल खेलेका उनले १३ चौका र ६ छक्का प्रहार गरी १२४ रन बनाएर नट आउट रहे।

निकोलस पुरनले ३४, दीपक हुडाले १७, कप्तान केएल राहुलले १६ र देवदत्त पाडिकलले १३ रन जोडे।

बलिङमा चेन्नईका मथिशा पाथिरनाले २ तथा दीपक चाहर र मुस्ताफिजुर रहमानले एक/एक विकेट लिए।

पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेट गुमाएर २१० रन बनाएको थियो।

त्यस क्रममा कप्तान रूतुराज गायकवाड शतक प्रहार गर्दै नट आउट रहे।

उनले ६० बलमा १२ चौका र ३ छक्काको मदतले १०८ रन बनाए।

शिवम दुबेले विस्फोटक ब्याटिङ गर्दै २७ बलमा ६६ रन बनाए। त्यसक्रममा उनले ३ चौका र ७ छक्का प्रहार गरे।

ड्यारिल मिचेल ११ र रविन्द्र जडेजा १६ रन बनाएर आउट भए।

बलिङतर्फ लखनउका म्याट हेनरी, मोशिन खान र यश ठाकुरले समान १/१ विकेट लिए।

योसँगै लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने चेन्नई पाँचौं स्थानमा पुगेको छ।

१२,बैशाख.२०८१,बुधबार ०७:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्