सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार (भोलि) बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल तय भएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

संसदको बर्खे अधिवेशन यही वैशाख २८ गतेदेखि सुरू हुँदैछ । अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेतालाई बोलाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाइएको छ ।

सहकारी प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष तहमा छलफल गर्न लागेका हुन् ।

सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर, सहमति भएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग-अलग छलफल भएको थियो ।

संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुखले संसदीय समितिका सभापतिहरू र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकहरूसँग अलग अलग भेट गरिरहेका छन् ।

सभामुख निर्वाचित भएको १५ महिनामा सभामुखको पहलमा ९ पटक शीर्ष बैठक बसेको छ ।

२४,बैशाख.२०८१,सोमबार ११:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्