कोशी खेलुकद विकास बोर्डका सदस्य सचिव बस्नेतलाई मुख्यमन्त्री कार्कीले सोधे २४ घण्टे स्पष्टीकरण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

वास्तविक नाम कृष्ण बस्नेत भए पनि उनी पर्शुराम बस्नेतको नामले चिनिन्छन् । बस्नेतलाई मुख्यमन्त्री कार्कीले यही वैशाख २३ गते स्पष्टीकरण सोधेका हुन् ।

२०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण समेत दाखिला गरेको पाइएको भन्दै मुख्यमन्त्री कार्कीले बस्नेतलाई स्पष्टीकरण सोधेका हुन् । विराटनगर महानगरपालिका वडानम्बर ११ घर भएका बस्नेत २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्रनम्बर ६ (२)बाट नेकपा एमालेको उम्मेदवार समेत थिए ।

‘प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ (ङ), ऐ ऐनको दफा १३ तथा प्रदेश खेलकुद ऐन २०७६ को दफा २७ प्रतिकुल तपाईंको पदले निरन्तरता पाउने हो होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पस्ट पार्नुहुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार हुन समेत जानकारी गराइन्छ,’ स्पष्टीकरण पत्रमा लेखिएको छ ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले बस्नेतलाई २४ असोज २०७८ मा खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए । त्यसपछि राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदले २१ चैत २०७८ मा उनलाई पदमुक्त गरेर हंशराज वाग्लेलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयविरुद्ध बस्नेतले १४ वैशाख २०७९ मा उच्च अदालत विराटनगरमा रिट दिएका थिए । सोही रिटमा दुई वर्षपछि उच्च अदालतले बस्नेत पुनर्बहाली हुने फैसला गरेको थियो ।

२४,बैशाख.२०८१,सोमबार १२:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्