बाँकेका हत्या संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही हुन्छ : गृहमन्त्री बालकृष्ण खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् ।

गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन् ।

आईतबार सिंहदरवारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए ।

‘नेपाली जनताको जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भिर छौं । र जनताको जीवन रक्षाका लागि महिला दिदीबहिनीहरुको रक्षाका लागि राज्य र सरकार गम्भिी छ ।’ उनले भने, ‘यी भएका घटनाहरुको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अव कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुन बमोजिम नै कारबाही हुन्छ ।’

गृहमन्त्री खाँणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भिर भएर लागिपरेको दावी समेत गरे। त्यसक्रममा महिला अधिकारकर्मीहरुले पीडिताको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

महिला सुरक्षा दवाव समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दवाव दिनु परेको बताइन् । उनले सरकारले सो घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न कुनै चासो नदिएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

महिला अधिकारकर्मीहरुले सो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगंजबाट पैदल यात्रा गरी काठमाडौं आई शान्तिपूर्ण प्रर्दशन गरिरहेका महिला अधिकारकर्मीहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन्।

२४,आश्विन.२०७८,आईतवार १८:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्