‘ओमिक्रोन’बाट जनताको सुरक्षाका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् । सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पु¥याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिइन् ।

उनले ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् । त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकि जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

सभापति घर्तीले भनिन,‘ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ । किनकी थोरै हुन्छन् । त्यस्तो गरे सजिलो हुन्छ । यो व्यवस्था स्वास्थ्य मन्त्रायले गरोस् । खोप लगाउने नियमित समय नतोकिकन खुल्ला राख्नुपर्छ । बाहिरबाट आएका मानिसहरुलाई खोप नगरपालिका, गाउँपालिका र वडामा जतिबेला जान्छन् त्यतिबेला खोप लगाउने व्यवस्था गर्नुपर्छ ।

हामीले आह्वान गरेको दिन कसैले थाहा पाउला कसैले पाउँदैनन् यस्तो भयो भने सजिलो हुन्छ । ओमिक्रोन त्यति धेरै जटिल रहेनछ भन्ने कुरा हामीले बुझ्यौँ । यो आइहाल्यो भने त हामीलाई गाह्रो हुन्छ, त्यसको पूर्व तयारीको लागि मन्त्रालय लाग्नुस् । नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ । त्यसैले भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुई वटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ ।’

सभापति घर्तीले अहिले राजनीतिक मुद्दा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिइन् ।

१९,मंसिर.२०७८,आईतवार १७:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्