विश्वकप छनोटमा अर्जेन्टिनाले चिलीलाई हरायो, ब्राजिलकाे बराबरी

एजेन्सी । विश्वकपको महादेशीय छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ गोल अन्तरले हराएको छ।

चिलीमा भएको खेलमा अर्जेन्टिनाका एन्जेल डी मारिया र लौतारो मार्टिनेजले गोल गरे। डी मारियाले दशाैं मिनेटमा भ्रमणकारी टोलीलाई अग्रता दिलाए पनि चिलीले २१ औ‌ मिनेटमा बेन ब्रेबेटनको गोलमा खेल बराबरीमा ल्याएको थियो । तर मार्टिनेजले ३४ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले फेरि अग्रता लिएको थियो।

यो खेलमा लियोनल मेस्सी अर्जेन्टिनी टोलीमा थिएनन्। १४ खेलबाट ३२ अंक भएको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट ३६ अंक भएको ब्राजिल शीर्षस्थानमा छ। ब्राजिल र अर्जेन्टिना कतार विश्वकपका लागि यसअघि नै छनाेट भइसकेका छन् ।

शुक्रबार बिहान भएको अर्को खेलमा ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेल्यो। घरेलु मैदानमा उत्रिएको इक्वेडर १५ औं मिनेटमा र ब्राजिल २० औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो।

त्यसअघि छैठाैं मिनेटमा कासेमिरोले ब्राजिललाई अग्रता दिलाएका थिए। ७४ औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गरेका थिए। १५ खेलबाट २४ अंक भएको इक्वेडर तालिकाको तेस्रो स्थानमा छ।

चौथो स्थानमा रहेको उरुग्वेको १५ खेलबाट १९ अंक छ। शुक्रबार बिहान उरुग्वेले पाराग्वेलाई १-० गोलले हराएको हो। ५० औं मिनेटमा लुइस स्वारेजले डिएगो गोडिनको पासमा गरेको गोल निर्णायक बनेको थियो।

१४,माघ.२०७८,शुक्रबार ०९:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्