मोक्ष मुस्ताङको व्यवस्थापन शिन्तामणिले सम्हाल्ने, संसारकै उत्कृष्ट रिसोर्टको सेवा अब जोमसोममा

काठमाडौं । यती वर्ल्डअन्तर्गत शेर्पा हस्पिटालिटी ग्रुपले जोमसोममा सञ्चालन गर्दै आएको मोक्ष मुस्ताङ सिोर्टको व्यवस्थापन अब अन्तर्राष्ट्रिय ख्यातिप्राप्त होडल ब्राण्ड शिन्ता मणीले सम्हाल्ने भएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शेर्पा हस्पिटालिटी ग्रुपका कार्यकारी निर्देशक नाम्ग्याल शेर्पा र शिन्तामणि होटल्सका डिजाइनर तथा निर्देशक बिल बेन्सलीले मोक्ष मुस्ताङको व्यवस्थापनसम्बन्धी सम्झौताको घोषणा गरेका हुन् ।

शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ब्राण्ड हो । १ अर्ब १० करोड रूपैयाँ लगानीमा निर्माण भइ सञ्चालनमा रहेको मोक्ष मुस्ताङ रिसोर्टको व्यवस्थापन अब अक्टोबरदेखि शिन्तामणिले सम्हाल्ने जानकारी दिइएको छ ।

यती वर्ल्डका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले नेपालमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न होटल जोमसोममा सन्चालन गर्नेगरी शिन्तामणीसँग सम्झौता भएको जानकारी दिए । सो समूहले गोकर्ण फरेस्ट रिसोर्टसहित सोलुखुम्बुको कोङ्दे लगायतका ठाउँमा पर्यटकीय होटल तथा रिसोर्टहरु सञ्चालन गरिरहेको छ ।

शिन्तामणीले अधिक सुविधासहितकाो रिसोर्टको पुनःसंरचना गर्नेछ । यो ब्राण्डले खर्चालु पर्यटकहरूका लागि लक्षित गरी कम्बोडियालगायतका देशमा निर्माण गरिएका होटल तथा रिसोर्टहरूको व्यवस्थापन सम्हाल्दै आएको छ ।

रिसोर्टमा न्यूनतम तीन दिनको बुकिङ्ग लिने भएकोले १५ सयदेखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज बिक्री हुने जनाएको छ । कोठा, हवाइ स्थानान्तरण, गतिविधिहरू, स्पा, खाना र पेय पदार्थहरू सबै प्याकेजमा समावेश हुनेछन् ।

अमेरिकन आर्किटेक बिन्सेलीले शिन्तामणि होटल ब्रान्डको सुरूवात गरेका हुन । कम्बोडियाको जंगल पर्यटनमा आफ्नो प्रयोग सफल भएको र नेपालमा पनि सफल हुने उनको विश्वास छ ।

२९ वटा कोठा रहेको मोक्ष मुस्ताङ रिसोर्टलाई उनको डिजाइनअनुसार पुनर्निर्माण गरिने छ । अर्थात उनको डिजाइनअनुसार केही परिवर्तन गरी सञ्चालनमा आउने छ । संसारभरीका पर्यटकहरूलाई थकाइ मार्ने मूख्य गन्तव्य जोमसोम बनाउने उद्देश्य सो समूहको रहेको छ ।

शेर्पा हस्पिटालिटीका युवा व्यवसायी नामग्याल शेर्पाले नेपाललाई विलासी साहसिक गन्तव्यको रूपमा विश्वबजारमा परिचित गर्ने मौका पाएको बताए । हिमाल नजिककै लक्जरीयस सुविधा पर्यटकहरुलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा दिन पाउने उनले बताए ।

२१,चैत्र.२०७८,सोमबार ११:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्