वागमतीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

हेटौंडा । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको तयारी सुरु भएको छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै माओवादी र काग्रेसका सांसदले मुख्यमन्त्री परिवर्तनको तयारी थालेका हुन् । तयारी अनुसार बिहीबार दुवै दलले मुख्यमन्त्री परिवर्तनको लागि हस्ताक्षर संकलन गरेका छन् ।

सांसद सिता अधिकारीका अनुसार आलोपालो सरकार चलाउने सहमति गरेपछि अहिले मुख्यमन्त्री पाण्डेले बाटो खोलिदिनु पर्नेमा आलटाल गरेका कारण हस्ताक्षर संकलन थालिएको बताइन् । उनले भनिन्, ‘दलका नेताबाट मुख्यमन्त्री परिवर्तनको कुरा छ हस्ताक्षर गर्न भनेपछि हामी सबैले हस्ताक्षर गरेर दलको कार्यालयमा बुझाएका छौं ।’

प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्ने तयारी रहेको सांसद अधिकारीले बताइन् । सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । सोही समझदारीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए ।

नेकपा माओवादी केन्द्रका एक सांसदले भने, ‘भोलि प्रक्रिया पूरा गर्नुपर्‍यो भने, वर्षाको बेला छ, सबै सांसदहरु उपस्थित नहुन सक्छन् भनेर हस्ताक्षर संकलन गरिएको हो ।’

१६,असार.२०७९,बिहीबार १५:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्