आउँदै गरेको चाडपर्व लक्षित गर्दै सुनकोशी गाउँपालिकाले थाल्यो सडक मर्मतको काम

सिन्धुपाल्चोक । आउँदै गरेको चाडपर्व लक्षित गरेर सुनकोशी गाउँपालिकाले सडकहरू मर्मत सुरू गरेको छ । दसैँ, तिहारलगायतका पर्वमा स्थानीयलाई ओहोरदोहोरमा सहजताका लागि सवारी आवागमन सुचारु गराउन गाउँपालिकाले सडक मर्मत थालेको हो ।

गाउँपालिकाभित्रका सातै वडामा ८० भन्दा बढी कच्ची सडकमा स्काभेटर र जेसीभी लगायर एक साताभित्र सडक मर्मत गरिने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले बताए । वडाभित्र मर्मत गर्नुपर्ने सबै सडकबारे जानकारी दिन यसअघि अनुरोध गरिएको थियो ।

बर्खा याममा बस्तीमा पुग्ने मुख्य सडक र सहायक सडक बिग्रिएकोले गाउँपालिकाले ठेक्का प्रक्रिया मार्फत कच्ची सडकहरूको मर्मत सुरू गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

गाउँपालिकाले वडा नम्बर १ देखि ४ भित्रका सडकहरू एउटा प्याकेज र ५ देखि ७ भित्रकालाई अर्को गरी दुई प्याकेज बनाएर मर्मत थालेको छ । वर्षाले सडक बिग्रिएपछि नियमित रूपमा यातयात सञ्चालन भइरहेका सडकमा समेत सवारी आवागमनमा अवरोध भएको वडा नम्बर ५ का अध्यक्ष जालबहादुर लामाले बताए ।

गाउँपालिकाले सडक सफा गरेपछि बस व्यावसायीहरूसँग सल्लाह गरेर नियमित बससमेत सञ्चालन गरिने लामाले जानकारी दिए ।

३,आश्विन.२०७९,सोमबार ०८:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्