नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने सन्देश जाने भएर टाइगर प्यालेस किनेका हौं : अध्यक्ष बुद्धिसागर सुवेदी

काठमाडौं । टाइगर प्यालेसका अध्यक्ष बुद्धिसागर सुवेदीले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने सन्देश जाने भएर टाइगर प्यालेस किनेको बताएका छन् ।

बुधबार अध्यक्ष सुवेदीले पत्रकार सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने सन्देश जाने भएर भैरहवा, रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट किनेको बताए ।

अष्ट्रिेलियन कम्पनी सिल्भर हेरिटेज गु्रपको लगानीमा सञ्चालित टाइगर प्यालेसलाई गैरआवासीय नेपालीहरुले हिमालयन टाइगर इन्भेष्टमेन्ट इक मार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै शेयर खरिद गरिएको हो ।

कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि पूर्णरुपमा सञ्चालन हुन नसकेको प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने भएपछि रिसोर्ट खरिद गरिएको अध्यक्ष सुवेदीले बताए ।

‘हामी विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै शेयरहरु खरिद गरेका छौं’, उनले भने, ‘सिल्भर हेरिटेज ग्रुपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र हामी गैरआवासीय नेपालीहरुले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इक मार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अष्ट्रेलियन कम्पनीको सबै शेयर खरिद गरेको हुदा टाइगर प्यालेस रिसोटको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इकमा हस्तान्तरण हुन आएको छ । अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको कुरा यहांहरु माझ जानकारी गराउन पाउदा हामी गौरवान्वित भएका छौं ।’

उनले रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा ईंटा थप्न चाहेका बताउँदै रिसोर्ट किन्नुमा नाफा आर्जनको उद्देश्य भन्दा पनि आफ्नो जन्मभूमि प्रतिको दायित्वबोध भएको दाबी गरे ।

आफ्नो सानो कोसिसले बन्द हुनै लागेको रिसोर्ट सञ्चालन भई नेपालमा रोजगारी सृजना गर्न तथा पर्यटन उद्योग मार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्ने प्रयासस्वरूप टाइगर प्यालेस रिसोर्टमा लगानी गरिएको उनको भनाइ छ ।

‘यसमा हाम्रो नाफा आर्जनको उद्देश्य भन्दा पनि आफ्नो जन्मभूमि प्रतिको दायित्व बोध बढी छ । कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसाय समेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा कारोबार भएको हो । तर, रिसोर्टमा भएको बैंक ऋणको दायित्व लगायतका अन्य व्यवसायीक दायित्वहरु र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेदा आर्थिक रुपमा जर्जर भएको रिसोर्टलाई सञ्चालन गर्नको लागि ठूलो रकम थप लगानी गर्नु पर्ने देखिएको छ’, उनले भने, ‘हामीले गरेको प्रारम्भिक अध्ययनबाट शेयर खरिद कारोबार रकम समेतलाई जोड्दा करिव ४ अब नेपाली रुपैया खर्च गर्नुपर्ने जस्तो देखिएको छ । हामी विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अष्टेलियन कम्पनीको शेयर खरिद गरेको भएपनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमा प्रचलित कानून वमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानूनले दिएको म्यादभित्र तिनें बुझाउने नै छौं ।’

उनले अगाडि थपे, ‘परियोजना सफल रुपमा सञ्चालन हुँदा गैरआवासीय नेपालीहरुमा लगानी गर्ने विश्वास पैदा हुने प्रत्यक्ष वैदेशिक लगानीको वातावरण बन्ने समेत विश्वास लिएका छौं । टाइगर प्यालेस रिसोर्ट पूर्णरुपमा संचालन हुँदा एक हजार भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाउने, नेपाल सरकारले पाउने राजस्व वृद्धि हुनुको साथै पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक समुन्नतिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको छ ।’

३१,श्रावण.२०८०,बुधबार १६:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्