कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने भएका छन् । विश्वास मत लिनेसम्बन्धी सूचना आज प्रदेशसभामा दर्ता भएको छ । विश्वासको मत लिने सम्बन्धी सूचना दुई दिनअघि दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ ।

गठबन्धन दलका तर्फबाट थापा साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलोपटक सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो ।

थापा कांग्रेस माओवादी, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री भएका थिए । उनको पक्षमा अहिले ४७ मत रहेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका थापाले संविधानको धारा १६८ को उपधारा ४ अनुसार कोशी प्रदेशसभाबाट विश्वासको मत लिन चाहेकोले भदौ ३ गतेको कार्यसूची समावेश गर्न प्रदेशसभामा सूचना दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कोशी प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधनसहित नियम १२८ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरिएको छ । कोशी प्रदेशसभामा सत्ता पक्षीय ४७ जना सांसद रहेका छन् । माओवादीबाट सभामुख भएका बाबुराम गौतमले राजीनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्री भएपछि अहिले कोशी प्रदेशमा सभामुख रिक्त रहेको छ ।

प्रदेशसभामा नेकपा माओवादीको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद छन् । अहिलेको अवस्थामा कोशी प्रदेश सभामा उपसभामुखले सदन चलाउँदाको अवस्थामा सरकारले विश्वासको मत पाउन सक्ने भनिएको छ तर त्यसमा एमालेको भूमिकामा भर पर्ने देखिएको छ ।

१,भाद्र.२०८०,शुक्रबार १४:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्