सहकारीको समस्या गम्भीर बन्यो, संसद चल्ने नचल्ने निश्चित छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरण जटिल बनेको ब्रिफिङ गरेका छन्।

सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद्को सहकारीको समस्या समाधान गर्नको लागि ठोस निर्णय गर्ने जानकारी गराए।

उनले बैठकमा भने, ‘सहकारीको समस्या गम्भीर बनेको छ। अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ। कुनै नेतालाई ताकेर होइन समग्र समस्या समाधानका गर्नको लागि संसदीय छानबिन समिति बनाउनेबारे छलफल भइरहेको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै सदन अबरुद्ध गर्दै आइरहेको छ। अहिले पनि अधिवेशन आह्वान गरेपनि चल्ने नचल्ने निश्चित नभएको बताए।

उनले थपे, ‘संसद बोलाइएको छ। चल्ने नचल्ने निश्चित छैन। विपक्ष दलसँग संवाद भएपनि निचोड निक्लिसकेको छैन।’ उनले समस्या समाधानको विषयमा छलफल गर्न केही दिनमा सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको जानकारी गराए।

उनले प्रतिपक्ष दल नेपाली कांग्रेसले समीकरण भत्काउने प्रयास गरेपनि तत्काल सम्भावना नरहेको जिकिर गरे।

२२,बैशाख.२०८१,शनिबार १३:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्