भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिमले ४ जना डाक्टर खटायो, तै पनि कर्णाली सरकारले फिर्ता पठायो

कैलाली । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको भोलिपल्टै सुदूरपश्चिम सरकारले २० जना चिकित्सकको टोली पठाउने निर्णय गर्‍यो । मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्तिमार्फत् आवश्यक औषधि, २० जना चिकित्सक र १ करोड उपलब्ध गराउने निर्णय गरेको जानकारी गराए । तर, त्यसैदिन (शनिबार) साँझ ४ जनालाई मात्र खटाइएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. शिवराज पनेरुको नेतृत्वमा चिकित्सक डा. गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् सम्पर्क व्यक्ति हेमराज जोशीका र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीसहित चारजना स्वास्थ्यकर्मीको टोलीलाई केही औषधि दिएर प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्र पठाएको थियो । तर, उक्त टोली प्रभावित क्षेत्र नपुगी सुर्खेतबाटै फर्कियो ।

सुर्खेत पुगेपछि कर्णालीका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल र कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले तत्काल मेडिकल टीमको आवश्यकता नभएको बताएपछि आफूहरू फर्केको स्वास्थ्य निर्देशनालयका विपद् फोकल पर्सन हेमराज जोशीले जानकारी दिए ।

‘उहाँहरूले तत्काल मेडिकल टीमको आवश्यकता नभएको बताएपछि हामी आइतबार राति नै धनगढी फर्किसक्यौँ,’ उनले भने ‘कर्णाली सरकारले अरू प्रदेश र केन्द्रबाट पनि टोली पुगिसकेको बताएपछि हामी फर्किएका हौँ ।’

करिब चार लाख औषधि कर्णालीका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई हस्तान्तरण गरेको जोशीले बताए ।

२० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरेर चारजना मात्रै किन जानु भएको त ? भन्ने प्रश्नमा उनले भने, ‘सुरूमा हामी चारजना गएर आवश्यक परे थप पठाउने कुरा थियो, हाम्रो पनि आवश्यकता नभएको बताएपछि हामी फर्किएका हौँ । ’

२१,कार्तिक.२०८०,मंगलवार १२:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्