आन्दोलनकारीलाई जन्मकैदको फैसलाले मधेश आन्दोलन अपमानित भयो : राजेन्द्र महतो

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार र पहिचानका लागि आन्दोलन गर्नेलाई अदालतबाट भएको जन्मकैदको फैसलाले मधेश आन्दोलन अपमानित भएको बताएका छन् ।

सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आन्दोलनकारीलाई जन्मकैदको सजायको दाबी प्रहरीले गर्‍यो र अदालतले सजाय सुनाइदियो । प्रहरी भनेको सरकार नै हो । त्यसैले मधेश आन्दोलनलाई सरकारले अपमानित गरेको छ । अधिकार र पहिचानको आन्दोलनलाई अपराधीकरण गरिएको छ ।’

तेस्रो मधेश आन्दोलनमा महोत्तरीको जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतले लोसपा मधेश प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहितलाई जन्मकैदको फैसला सुनाएको छ । अदालतको फैसलापछि दोस्रो पटक निर्वाचित प्रदेशसभा सदस्य शर्मासहितका नेताहरू सम्पर्क विहीन छन् ।

अदालतले मधेश आन्दोलनकारीलाई जन्मकैदको फैसला सुनाए पनि मधेश केन्द्रित दलहरू सरकारमै छन् । यस सन्दर्भमा नेता महतोले सरकारमा रहेका चार मधेशी दल लोसपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्कालै सरकार छाड्नुपर्ने बताए ।

‘सात दलीय मोर्चाको आह्वानमा मधेश आन्दोलन भएको थियो’, नेता महतोले भने, ‘यदि आन्दोलनकारी अपराधी भयो भने आन्दोलनको आह्वान गर्नेहरू त मुख्य अपराधी भयो नि ! र, अपराधी बनाउने काम सरकारबाटै भयो । त्यसैले चारै मधेशी दल सरकारमा बस्नुको औचित्य छैन ।’

नेता महतोले आन्दोलनकारीलाई जन्मकैदको फैसला हुँदा पनि मधेशी दलहरू चुप्पी साधेर सरकारमा बसेकोमा दुस्ख व्यक्त गरे । सरकार छाडेर आन्दोलनमा होमिन चारै मधेश केन्द्रित दलका नेतृत्वसँग उनले आग्रह समेत गरे ।

उनले भने, ‘अदालतको फैसलाले पहिचान र अधिकारको आन्दोलन गरेमा जन्मकैद सजाय हुन्छ भन्ने सन्देश दिएको छ । यसविरुद्ध हामीले संघर्ष गरेनौँ भने अब कसले आन्दोलन गर्छन् रु यो कुरा नेतृत्वकर्ताहरुले बुझ्न जरुरी छ ।

१०,पुष.२०८०,मंगलवार ०९:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्