सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेट

काठमाडौं । सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेट भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदानप्रदानलगायतका विषयमा छलफल भएको हो ।

भेटमा सभामुखले संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता साझा प्रतिबद्धताहरू भएको बताए ।

उनले भने, ‘आयरल्यान्डको संसदमा आयरल्याण्ड-नेपाल संसदीय मैत्री समूह गठन भएकोमा हामीलाई खुशी लागेको छ । हालै नेपालमा पनि नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूह गठन भएको छ । संसदीय मैत्री समूहको गठन भएबाट आगामी दिनहरूमा दुई देशबीच संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न सहज हुने र यसबाट दुई देशबीचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ ।’

दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन संसद र सांसदहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। गत वर्षको आफ्नो आयरल्याण्ड भ्रमणका दौरान दुई देशबीच संसदीय आदानप्रदान घनीभूत बनाउने एवम् संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने बारे छलफल भएको स्मरण गरे ।

सन् २०१५ मा नयाँ संविधान जारी भएपश्चात नेपालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीकरण, धर्म निरपेक्षता, जनताका मौलिक अधिकार, मानव अधिकार, कानूनको शासन, सामाजिक न्याय लगायतका लोकतन्त्रका मूल्य र मान्यताहरूलाई आत्मसात गरेको उल्लेख छ ।

यस्तै भेटमा आयरल्याण्डका अध्यक्षले सभामुखको भ्रमणका क्रममा शिक्षा क्षेत्रको आदान प्रदानमा देखाउनुभएको चासो सम्बोधन गर्न आयरल्याण्डको शिक्षा मन्त्रालय र संसदको शिक्षा समितिले काम गरिरहेको बताए ।

उनले भने, ‘नेपालको संविधानले लोकतन्त्रलाई संस्थागत गर्न र विकासमा सहयोग गर्ने अपेक्षा लिएको छु । दुवै मुलुकमा संसदीय मैत्री समूह निर्माण भएका छन् । तिनले संसदीय आदानप्रदानका लागि सहयोग गर्ने अपेक्षा लिएको छु । नेपालले मानवअधिकार र लैंगिक तथा यौनिक अल्पसंख्यकका क्षेत्रमा गरेका प्रगति विश्वकै लागि उदाहरणीय छन् ।’

नेपालले शान्तिका क्षेत्रमा विश्वमा गरेका प्रयासहरू उदाहरणीय रहेको बताए ।

२४,पुष.२०८०,मंगलवार १२:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्