लण्डनको कार्यक्रमको लफडा बोर्ड हुर्दै सञ्चार मन्त्रालयसम्म, भुवन र केएल बुढाथोकी लफडा छताछुल्ल

काठमाडौं । बेलायतमा आयोजना हुन लागेको संस्कृतिक कार्यक्रममा सहभागिताको विषयलाई लिएर चलचित्र विकास बोर्डका पदाधिकारीबीचको तछाडमछाड छताछुल्ल भएको छ ।

कार्यक्रममा अध्यक्ष भुवन केसी र बोर्डको सहभागितालाई रोक्न निर्देशनको माग गर्दै प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका छन् ।

बुढाथोकीले मन्त्रालयमा पेश गरेको पत्रमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका छन् । उक्त संस्थाले ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरु र अन्तर्राष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रम लण्डनमा माघ ६ देखि ११ गतेसम्म गर्ने जनाइएको पत्रमा उल्लेख छ ।

बुढाथोकीले मन्त्रालयमा बुझाएको पत्रमा लेखेका छन्, ‘कार्यक्रमको विश्वसनीयता र गरिमा बढाउन चलचित्र विकास बोर्डको सहभागिताको प्रचार व्यापक गरिएको छ । यो एकप्रकारको बोर्डको दुरुपयोग हो ।’

केही वर्षयता विदेश घुमाउने मोह देखाएर चलचित्र क्षेत्रको प्रवद्र्धनको नाममा पैसा कमाउने धन्दा फस्टाएको र यसले गर्दा कार्यक्रमको विश्वसनीयता र प्रतिष्ठा घट्दै गएको बुढाथोकीले उल्लेख गरेका छन् ।

उनले यसको बोधार्थ पत्र निर्देशक समाज, निर्माता संघ, कलाकार संघ र चलचित्र पत्रकार संघलाई पनि पठाएका छन् । यो कार्यक्रमका लागि जाने तयारीमा रहेका केहीको भिसा आइसकेको जनाइएको छ ।

डेल्फिक काउन्सिल नेपालका उपाध्यक्ष जीवन पराजुलीले चाहिं प्रवक्ता बुढाथोकीले लगाएका आरोप असत्य भएको बताए । ‘हामीले मन्त्रालयमा ब्रिफिङ गर्दा पनि जानेले आफ्नो व्यवस्था आफैं गर्नुपर्छ भनेका छौं । भिसा इस्युको कारण उहाँले त्यसो भन्नुभएको होला,’ उनले भने ।

प्रवक्ता बुढाथोकीको निवेदन

५,माघ.२०८०,शुक्रबार १७:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्