अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित

काठमाडौं । अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् । १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसीपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १० औँ साग गेमका गोल्डमेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो । सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो ।

गत २८ मार्चदेखि अप्रील १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेर समूह र ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन् । साथै सिनियर ६८ केजि तौलमा भने उनले रजत पदक प्राप्त गरेकी थिइन् ।

यो प्रतियोगिताले आगामी खेलकुदलाई थप सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए । ‘युएस ओपन च्याम्पियनसीपको सिनियरमा नेपालीले स्वर्ण जितेको पहिलो पटक हो । थप हौसला मिलेको छ । २० औँ एसियन गेममा खेल्न मद्दत पुग्छ,’ प्रशिक्षक श्रेष्ठले भने । जुलाईमा भुटानमा हुने ८ औँ साउथ एसियन कराते च्याम्पियनसीप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ । उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौ फर्किनेछ ।

२२,चैत्र.२०८०,बिहीबार १२:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्