जन्मकैद सजाय पाएकालाई सफाइ दिएको भन्दै, जनकपुर उच्च अदालतमा आफन्तले गरे नाराबाजी

जनकपुरधाम । जन्मकैदको सजाय पाएकाहरूलाई सफाइ दिइएको भन्दै उच्च अदालत जनकपुरमा आफन्तले नाराबाजी गरेका छन् ।

सबै नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीलाई सफाइ दिएको थियो ।

जिल्ला अदालत धनुषाबाट जन्मकैदको सजाय पाएका ३ जना र १ सालको कैद सजाय पाएका बाँकी प्रतिवादीलाई उच्च अदालत जनकपुरले सफाइ दिइएपछि फैसलाप्रति असन्तुष्टि जनाउँदै अदालत परिसरमा आफन्तले नाराबाजी गरेका हुन् ।

मृतक रामसेवक राउतका छोरा सञ्जीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै अदालतको फैसलाविरुद्ध नाराबाजी गरेका हुन् । अदालत परिसरमै नाराबाजी गरेको भन्दै प्रहरीले राउत र साह दुवैजनालाई पक्राउ गरेको छ ।

यसअघि चैत २२ गते जिल्ला अदालत धनुषाबाट जन्म कैदको सजाय पाएका महेन्द्र यादव, महेस यादव र रासबिहारी भन्ने लालविबहारी यादवसहित १ सालको कैद सजाय पाएका १९ जनालाई उच्च अदालत जनकपुरले जिल्लाको फैसला उल्ट्याउँदै अभियोग दाबीबाट सफाइ दिएको हो ।

उच्च अदालत जनकपुरको इजलास नम्बर ४ मा न्यायाधीशहरू किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादी सबैलाई सफाइ दिने फैसला सुनाएको हो ।

सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा २०७१ साल चैत ८ गते राति भएको दुईतर्फी भिडन्तको क्रममा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो ।

२३,चैत्र.२०८०,शुक्रबार १५:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्