लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरू, उपप्रधानमन्त्री श्रेष्ठद्वारा उद्घाटन

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रवारदेखि सुरू भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसर पारेर आयोजित महोत्सवको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उद्घाटनलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले ध्यानको माध्यमबाट सामाजिक रूपान्तरण गर्नुपर्ने बताए । ध्यानले आफूलाई चिन्न सिकाउने भएकाले आफूलाई चिन्ने व्यक्ति सधैँ समाजमा पछि पारिएका वर्ग समुदायसँगै सिङ्गो मानव जातिको मुक्तिको पक्षमा उभिने उनले बताए । बुद्ध मार्ग शान्ति र ध्यान एक अर्काको परिपूरक भएको उल्लेख गर्दै लुम्बिनीलाई बुद्धमार्गसंगै ध्यानको पनि केन्द्रको रूपमा विकास गर्नुपर्ने बताए । ध्यान अँध्यारोबाट उज्यालो, असत्यबाट सत्य, अन्यौलताबाट निश्चिततातर्फको यात्रामा डोर्‍याउने प्रमुख माध्यम भएको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले ध्यानका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यलाई थप मजबुत बनाउन सकिने भएकाले यसलाई अध्यात्मवादको नयाँ आयामका रूपमा लिन सकिने बताए ।

त्यस्तै गरी नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल हिमाल र नदीहरूले जोडिएको उल्लेख गर्दै सगरमाथा नेपाल चीनबीचको मित्रताको साक्षी भएको बताए । बुद्ध जन्मस्थल नेपाल भएको र चीनमा बौद्धमार्गीहरुको अधिक संख्या रहेका कारण धार्मिक तथा सांस्कृतिक रूपमा पनि नेपाल र चीनबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । नेपाली राजकुमारी भृकुटीको र मूर्तिकार अरनिकोलाई नेपाल र चीन दुवै देशमा चर्चा गरिने गरेको स्मरण गर्दै राजदूत सोङले यसबाट परापूर्वकादेखि नै नेपाल र चीनबीच गहिरो मित्रता रहेको बुझ्न सकिने बताए ।

ध्यानले शान्ति र सद्भावको सन्देश दिने र चीन सधैँ आपसी सद्भावको पक्षमा रहेको उनको भनाइ थियो । नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लगे चीनले त्यसको समर्थन गर्ने उल्लेख गर्दै लुम्बिनीलाई ध्यानको राजधानी बनाउन आग्रह गरे । त्यस्तै गरी लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ध्यानको माध्यमबाट बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्न सकिने बताए ।

लुम्बिनी हुने यस्ता कार्यक्रमहरूले पर्यटकको संख्या बढाउन र अध्यात्मवादको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । महोत्सव नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा महोत्सव आयोजना गरिएको हो । नेपाल ओभरसिज चाईनिज एशोसियसन (एनओसिए), लुम्बिनी स्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एशोसिएशनसँगको सह आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, युनान पर्वतारोहण तथा आउट डोर स्पोर्ट एशोसियसन, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद् र ग्रिनरोडले सहकार्य गरेका छन् ।

लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन र नेपाल चीनबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने उद्देश्यले महोत्सव गरिएको हो । शनिवार बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन गरिने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एव पूर्व मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथन दौड हुनेछ । पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राको लागि ३ किलोमिटर वाकाथन पनि हुनेछ । प्रतियोगिताको विद्यागत रूपमा २० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

शनिवार साँझ लुम्बिनी स्क्वायरमा लुम्बिनी शान्ति कन्सर्ट हुनेछ । विश्व प्रसिद्ध गायिका आनी छोयङ डोल्मा, प्रख्यात चिनियाँ गायक उलान तुया, गुकिन कलाकार लु निङ लगायतका कालाकारहरूको प्रस्तुति रहने छ ।

२३,चैत्र.२०८०,शुक्रबार १७:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्